काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रन नमानेको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्ति र शपथ लिएपछि कार्कीले सोमबारै सर्वोच्चमा पद बहाली गरेकी छन् ।
कार्कीसमेत संलग्न सर्वोच्च अदालतको संवैधानिक इजलासले गत पुस २३ गते द्वन्द्वकालको एउटा हत्या घटनामा मुछिएका ढुंगेललाई कैदबाट माफी दिने गरी मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष गरिएको सिफारिस खारेज गरेको थियो । सर्वोच्चले अन्तिम फैसला कार्यान्वयन गर्न अदालतमा समर्पण नगरी माफी दिँदा कानुनी शासनको सिद्धान्त उल्लंघन हुने ठहर गरेको थियो ।
सर्वोच्चले नयाँ संविधान एवं माफीसम्बन्धी कानुनको अभावमा त्यस्तो निर्णय गर्न नसकिने उक्त फैसलामा जनाएको छ ।तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश कार्की (हाल प्रधानन्यायाधीश), वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्र सम्मिलित संवैधानिक इजलासले गरेको उक्त फैसलासँगै अब त्यस्ता घटनामा माफीमिनाहाको बाटोसमेत समाप्त भएको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या विवादमा दायर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैद हुने अन्तिम फैसला सर्वोच्चले गरेको थियो ।अाजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।









