काठमाडौं, साउन १३ / युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४०औँ अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ। ‘एक वर्षभित्र नेपालले सम्पदा पुनर्निर्माणमा चित्तबुझ्दो कार्य प्रगति गर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदा सूचीबाट खतराको सूचीमा पर्नेछन्,’मन्त्रालयका सचिव प्रेमकुमार राईले भने,‘भर्खरै भूकम्पको त्रास बिर्सदै अगाडि बढ्दै गरेको नेपाललाई सहानुभूतिस्वरूप एक वर्षको अवसर दिइएको हो।’
प्रस्तावको छलफलका क्रममा युनेस्कोको २१ सदस्यीय ब्युरो कमिटीमध्ये १८ सदस्य नेपालको पक्षमा उभिएपछि तत्काल खतराको सूचीमा पर्नबाट जोगिएको सचिव राईले जानकारी दिए। बुधबार युनेस्को अधिवेशन सम्बन्धमा व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई जानकारी गराउ“दै सचिव राईले चालू आर्थिक वर्ष सम्पदा पुनर्निर्माणमा अधिकतम लगानी गर्नुपर्ने बताएका हुन् ।
नयाँ सूचीकृतमा नेपाल कमजोर
नेपालले नयाँ गन्तव्य, सम्पदा तथा सांस्कृतिक धरोहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भने असफल रहँदै आएको छ। ‘हामीले विगतदेखि नै सीमित गन्तव्यलाई पर्यटकीय महत्वका सम्पदाका रूपमा प्रवद्र्धन गरिरहेका छौँ,’ पर्यटन मन्त्रालयका सचिव राईले भने, ‘सोही कारण नयाँ सम्पदा सूचीमा लैजान सकिएको छैन ।’ भारतले कञ्चनजंघा संरक्षण क्षेत्रका नाममा हालै एक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराएको र युनेस्कोको ब्युरो कमिटिमा नेपालको प्रतिनिधित्व नहुँदा त्यसको खण्डन गर्न नसकिएको पर्यटन मन्त्रालयको भनाइ छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।








