काठमाडाैँ ।मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार राति पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे ।
‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन,’ ती नेताले भने, ‘तर शेरबहादुर दाइले मानिराख्नुभएको छैन । किन अप्ठ्यारो मान्नुभएको हो, थाहा हुन सकेको छैन ।’ यसबीचमा गच्छदारले देउवालाई मनाउने कोसिस गरे पनि उनले चासो नदेखाएको फोरम लोकतान्त्रिकका अर्का नेताले बताए ।
ती नेताले प्रधानमन्त्री दाहालका निकटस्थबाट देउवासँग कुराकानी गर्न गच्छदारलाई सुझाव प्राप्त भएको समेत खुलाए । बिहीबारको बैठकले सरकारका बारेमा अरू दलसँग छलफल चलाउने जिम्मेवारी अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको छ । पार्टीका अर्का नेता रामजनम चौधरीले बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकाले शुक्रबार दिउँसो एक बजे पुनः बस्ने जानकारी दिए ।
पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको एक साता नाघिसक्दा दुईपल्ट मन्त्रिपरिषद् विस्तार भइसक्यो । अन्तिम घडीसम्म अघिल्ला प्रधानमन्त्री केपी ओलीलाई सघाउने वचन दिएको फोरम लोकतान्त्रिकले दाहालका पक्षमा भोट हाले पनि सरकारमा जाने प्रयास सफल हुन सकेको छैन । अपवादबाहेक सबै मन्त्रिपरिषद्मा सामेल हुने गरेका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई यसपटक सत्तारोहण सहज भएको छैन ।
सम्मानजनक हैसियतमा मात्रै सरकारमा : गच्छदार
गच्छदारले सम्मानजनक हैसियत प्राप्त भए मात्रै सरकारमा जाने बताएका छन् । पार्टी कार्यालय तीनकुनेमा बिहीबार पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक सुरु गर्दै गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउनुपर्ने घुमाउरो दाबी गरे । उनी यसअघिको सरकारमा उपप्रधानमन्त्री थिए । ‘हामी सम्मानजनक हैसियतमा मात्रै सहभागी हुन्छौं,’ गच्छदारले बैठकअघि पत्रकारसँग भने, ‘अन्यथा प्रचण्डजीको मन्त्रिपरिषद्मा सहभागी हुदैनौं ।’
देउवा निकट नेता एनपी साउदले दाहालका पक्षमा भोट हालिसकेकाले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै गच्छदार आउन सक्ने भए पनि अझैसम्म सहभागी नहुनुका पछाडि देउवामात्रै कारक नरहेको तर्क गरे । ‘पक्कै पनि केही कुरा छ, तर शेरबहादुर देउवाको मात्रै कारणले होइन,’ उनले भने, ‘म यसभन्दा धेरै भन्न सक्ने अवस्थामा छैन ।’
गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक खोल्दा देउवासँगै गएका गच्छदार कालान्तरमा देउवाको साथ छाडेर २०६४ सालमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम पुगेका थिए । अर्को वर्ष उनी सो पार्टीसमेत फुटाएर आफैं फोरम लोकतान्त्रिक नेतृत्व सम्हाल्न पुगेका थिए ।
गच्छदारले बिहीबार पार्टी कार्यालयमा बोल्दै आफू संविधानसभाको अवधिदेखि नै राष्ट्रिय सहमतिको पक्षधर रहेकाले सहमतिको संस्कृति नछाड्न अरू दललाई आग्रह समेत गरे । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै उनले त्यसको अर्थ आफ्नो दल सधैं सरकारमै रहिरहनुपर्छ भन्ने नभएको तर्क गरे । ‘म पहिले पनि संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको पक्षमा थिएँ, अहिले कार्यान्वयनको बेला छ,’ उनले भने, ‘हामीलाई सरकारमा जाने कुनै हतारो छैन, तर सहमतिको विकल्प छैन ।’
अर्को वर्ष माघसम्ममा तीन चुनाव गरिसक्नुपर्ने अवस्थामा सहमतिको सरकारको औचित्य झन् बढेको उनको दाबी थियो । संघीय सिमानाको पुनरावलोकन गर्दै आठ प्रदेश निर्माण गरिनुपर्ने उनले बताए ।
‘सात प्रदेशले देशमा संकट निम्त्याउँछ, संविधान कार्यान्वयन हुन दिँदैन, तयसैले हामी आठ प्रदेशको पक्षमा छौं,’ गच्छदारले भने, ‘त्यसमध्ये तराई मधेस र थरुहटमा तीन प्रदेश हुनुपर्छ ।’
मधेसी मोर्चाले गच्छदारलाई सरकारमा जानबाट रोकेको परिचर्चाका बीच उनले त्यो सही नभएको दाबी गरे । गच्छदारले यसअघिको पार्टी बैठकपछि मोर्चालाई आफूप्रति ईष्र्याको राजनीति नगर्न चेतावनी दिएका थिए ।उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको कान्तिपुर दैनिकमा खबर छ ।








