काठमाडौ । ‘म बनाउँछु मेरो धरहरा !’ वैशाख १२, ०७२ को शक्तिशाली भूकम्पले ढालेको ऐतिहासिक धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो ।
सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराको नाममा दान गर्न थाले ।अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसकेको छ ।
बिडम्बना! त्यतिबेलै मन्त्रीपरिषद्ले गरेको धरहरा पनुर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैंले धोती लगाइदिए ।स्वयं ओलीबाहेक कुनै मन्त्रीले उक्त कोषमा पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।
फागुन ४ गते धरहराको फेदमा आयोजित ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए ।
सोही साँझ बसको मन्त्री मण्डलको बैठकले अभियानको लागि मन्त्रीपरिषद्का सबै सदस्यले एक महिनाको तलब कोषलाई उपलब्ध गराउने निर्णय गरेको थियो । आजको नागरिकमा समाचार छ ।









