काठमाण्डाै । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहलगायत माओवादी केन्द्रका १० नेताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएको छ। पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ का इन्जिनियर देवनन्दन मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन । मुद्दा दर्ता भएपछि सबै फरार छन् ।
उनीहरूले कागज गराउनुका साथै यसबारे कहींकतै केही बोले ज्यान मार्ने धम्कीसमेत दिएको मण्डलले बताए । ‘माओवादी नेता श्रवण यादवले आफूलाई पत्रकार उमा सिंहको हत्या गर्दा केही भएन, तपार्इंकै हत्या गर्दा के हुन्छ भनेपछि डराएर औंठाछाप लगाइदिएँ,’ उनले भने ।
आशोपुर बल्कबास्थित मैनाबत्ती नदीको कटान रोकथामसम्बन्धी कामको निरीक्षणमा जाने क्रममा पूर्वमन्त्री साहसँग गोलबजारमा भेट भएको र उनले श्रवण रिसाएकाले सम्पर्क गर्न भनेकाले आफू भेट्न गएको उनको भनाइ छ । ‘चारैतिरबाट घेरा हालेर गाली गर्न थाले,’ उनले भने, ‘कसैले पहिले एउटा औंला काट भने, कसैले एउटा हात काट भने,’ उनले भने, ‘डरले अताल्लिएँ, मलाई मार्ने भए भन्ने ठानें, तर भगवानो दयाले बाँचेँ ।’
घटनास्थलमा पूर्वमन्त्री साहसहित जम्मा ११ जना रहे पनि ४ जनालाई मात्र चिन्न सकेको उनको भनाइ छ । ‘मैनाबती नदी नियन्त्रणका लागि ५० लाख बजेट आएकामा आफ्नो उपभोक्ता समितिमार्फत काम नगराएको भन्दै उनीहरूले सुरुमा ५० लाखकै कागज गर्न दबाब दिएका थिए,’ उनले भने, ‘तर आफूलाई मारे पनि त्यतिको कागज नगर्ने अडान लिएपछि अन्त्यमा ५ लाखको मात्र कागज गराए ।’आजको कान्तिपुर दैनिकमा खबर छ।








