२२ असोज, राज कुमार पासवमान सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका ५ (चमारबस्ती) स्थित सय बर्ष भन्दा बढी पुरानो काली मन्दिर संरक्षण र सम्बद्र्धन हुनुको साटो दिनप्रति दिन उपेक्षित हुदैँ आइरहेको छ ।कञ्चनपुर,जगतपुर,प्रिपापूर्व,रुपनगर र बदगामा लगायतका गाविसका जनताहरुले दशैंमा उक्त ठाउँमा मेला गर्न आउने गरेको थियो । तत्कालिन समयमा कञ्चनपुरका उक्त काली मन्दिरमा मात्रै मेला लाग्ने गरेको थियो । तर पछिल्लो समय समुदायपिच्छे र चौक चौकमै दुर्गा पुजा गर्ने लहर चलेपछि ऐतिहासिक काली मन्दिर संरक्षण र सम्बर्धनको सवाल गौण भएका छन् ।
समाजिक रुपमा स्थापित नेता तथा नागरिक समाजका अगुवाहरु समेत आ आफनै घर अगाडी दुर्गा पूजा आयोजना गर्न थालेपछि ऐतिहासिक मन्दिर उपेक्षित भएका छन् । सार्वजनिक रुपमा पैसा संकलन गरि व्यक्ति विशेषले हाली मुहाली गर्ने गरि एउटै गाविसमा ३,४ ठाउँमा दुर्गा पूजा हुन थालेपछि काली मन्दिर गौण बनेका हो । १०-१२ वर्ष अघिदेखी दुर्गा पुजा हुन लागेको ठाउँमा स्थानीय निकायको स्रोत उपयोग गरि हुनेखानेताहरुले घर अगाडी नै दुर्गा मन्दिर निमार्ण गरिसकेका छन् तर सय वर्षभन्दा पुरोनो ऐतिहासिक काली मन्दिर निमार्णमा कुनै पहल भएको छैन ।
चार पुस्ता अघिदेखी चमार बस्तीमा विल्ट रामका बुवा भोला राम र आमा ठक्कनीदेवी रामले उक्त ठाउँमा काली मन्दिर स्थापना गरि पूजा सुरु गरेका थिए । मन्दिरकी पुजारी रजिया देवी रामले भनिन् कञ्चनपुरमा मात्रै होइन यस भेगमै सर्वप्रथम काली मन्दिरमा पुजा हुन्थ्यो । सबै जना यही आएर पुजा गर्नुहुन्थ्यो । तर अहिले टोल पिच्छे दुर्गा पुजा सुरुभएपछि हामी गरिबहरुलाई हेर्न सबैले छोडिसक्यो ।
उक्त काली मन्दिरमा शक्ति शाली छ । करिब ८० वर्ष अघि ठक्कनी देवीले दशैंको वेलामा काली मन्दिरमा कालीमाता समक्ष अब उप्रान्त प्रत्येक वर्ष पुर्जा गर्न नसक्ने बताएपछि कालीले ठक्कनीको घाटी नै समातेको थियो,पछि जसरी भएपनि निरन्तर पूजा गर्ने भाकल गरेपछि कालीले ठक्कनीको घाटीबाट हात झिकेको बुढापाकाहरुले बताउँछन् । स्थानीय ६७ वर्षीया देव नारायण महतोले भने यो मन्दिर कंकालीनी मन्दिर भन्दा पनि पुरानो हो । यो मन्दिरको पुजारी चमार समुदायको भएपनि यस भेगका सबै समुदायले आस्था र विश्वासका साथ यहाँ पुर्जा गर्न आउथ्यो र अझै पनि आउँछ तर यसको उचित संरक्षण गर्न कसैले चासो दिएन ।
ऐतिहासिक काली मन्दिरमा पहिले दशैंमा कुस्तीको आयोजना हुन्थ्यो,नेपाल वाहेक भारतका विभिन्न ठाउँबाट यहाँ कुस्ती खेल्न खेलाडीहरु जम्मा हुने गर्दथ्यो । सयौं खसी बोका र रागा बली प्रदान हुन्थ्यो । तर यस्तो ऐतिहासिक मन्दिर निमार्ण र संरक्षणमा स्थानीय निकाय र यहाँका राजनीतिक दलका नेताहरुले ध्यान दिन नसक्दा मन्दिर जीर्ण बनेको छ ।
मन्दिर दलित बस्तीमा भएको र दलितहरुको पहुँच गाविस तथा नगरपालिका नभएको कारण अहिलेसम्म वर्षौ पुरानो मन्दिर संरक्षण हुन नसकेको चमार समुदायको गुनासो रहेको छ । समाजका हुनेखाने व्यक्तिले आयोजना गर्ने दुर्गा पूजामा हजारौ रकम सहयोग गर्ने स्थानीय व्यापारी र व्यक्तिहरुले ऐतिहासिक काली मन्दिरका पुजाका लागि चन्दा माग्न जादा ५० रुपैया माग्न जादा पनि चार पटक फर्काने गरेको मन्दिरकी पुजारी रजिया देवी रामले गुनासो पोखनि । समाज पनि हुनखाने र धनी वर्गलाई नै साथ दिने रहेछ । उनले भनिन् अहिले हामीलाई पुर्जा अर्चना गर्न पनि समस्या छ ।
कञ्चनरुप नगरपालिका कञ्चनपुरका कार्यकारी अधिकृत रामनारायण साहले भने “मन्दिर निमार्ण र संरक्षणका लागि बस्तीस्तरबाट योजना छनोट भएरआएपछि म प्राथमिकताका साथ उक्त मन्दिर निमार्ण र संरक्षणका लागि बजेट विनयोजन गर्छु ।” तर स्थानीय स्तरमा योजना निमार्ण गर्ने ठाउँमा दलितहरुको पहुँच नभएकोले अझै पनि मन्दिर संरक्षण र निमार्ण हुने कुरामा शंका नै छ ।
त्यसो त गत वर्ष मन्दिरमा पुजा गर्न आएका कञ्चनपुरका घनश्याम गुप्ताले सञ्चारकर्मीहरुसंग मन्दिर निमार्ण व्यवस्थित तरिकाले गर्न सुरु भएपछि व्यक्तिगत रुपमा ५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । अझै पनि समुदायको आस्था र विश्वास काली मन्दिरप्रति कायम छ । यसलाई व्यवस्थित रुपमा संरक्षण र सम्बद्र्धन गर्न चाहेमा सहयोगी हातहरु जुट्ने नै छ,तर त्यसको लागि यूवाहरुले पहलकदमी लिनु पर्ने आवश्कता छ ।









