काठमाडौं, २० माघ । २६ माघ ०७२ मा मस्तिष्कघात भएर ढलेका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य एक वर्षपछि राजनीतिमा फर्किएका छन् । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको अचानक निधनको खबरले मर्माहत भएका आचार्य कोइरालानिवासमै ढलेका थिए ।
धेरैलाई उनी स्वस्थ भएर पुनः राजनीतिमा फर्किने हुन् कि होइनन् भन्ने चिन्ता थियो । एक वर्ष लामो उपचारपछि उनी पुनः राजनीतिमा सक्रिय हुन थालेका छन् । बुधबार उनी संसद् बैठकमा पनि सहभागी भए । सहकर्मी सांसदहरूसँग सन्चो–बिसन्चो आदानप्रदान गरे र बा।१३च ६५४४ नम्बरको रातो कार चढेर निवास फर्किए ।
यसअघि १५ माघमा उनी श्रीमती शारदा शर्माका साथ सहिद गंगालाल हृदयरोग केन्द्रको २१औँ वार्षिकोत्सव समारोहमा सहभागी भएका थिए । त्यहाँ उनले दश मिनेट लामो लिखित मन्तव्यसमेत दिएका थिए । बुधबार संसद्मा भने उनी स्वकीय सचिव रामचन्द्र घिमिरे र छविमगर आचार्यका साथमा पुगेका थिए । फर्किने क्रममा उनले सञ्चारकर्मीसँग आफ्नो स्वास्थ्यअवस्थाबारे जानकारी दिए । ‘अब बिस्तारै फिर्दै छु, केही दिनयता सक्रिय हुने प्रयास गरिरहेकै छु । सकभर संसद्मा आउने र सक्रिय हुने प्रयास गर्नेछु अब,’ आचार्यले भने ।
वर्ष दिनपछि संसद् बैठकमा सहभागी हुन आचार्य महाराजगञ्ज चुनदेवी गणेशस्थानस्थित निवासबाट साढे २ बजे निस्किएका थिए । उनी संसद् भवनमा तीन बज्न ५ मिनेट बाँकी रहँदा पुगेका थिए । आचार्यलाई संसद् भवनमा काठमाडौं ६ का कांग्रेस सांसद भीमसेनदास प्रधानले माला लगाएर स्वागत गरेका थिए । सांसद राधेश्याम अधिकारीलगायतले पनि खादा लगाइदिए । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि आचार्यलाई स्वागत गरे । संसद् भवनको मूल गेटअगाडिको स्वागतपछि उनी सीधै उपस्थिति पुस्तिकामा हाजिर गरी बैठककक्षमा पुगे । संसद्मा राष्ट्रिय गान बज्दा अरू सांसदसँगै उनी पनि आफ्नो सिटबाट उठे । बैठककक्षमा पनि उनलाई सांसदहरूले स्वास्थ्यअवस्थाबारे जानकारी लिए र खुसी साटासाट गरे ।
दैनिक पुस्तक पढ्छन्
आचार्य अध्ययनमा विशेष रुचि राख्छन् । त्यसैले समकालीन राजनीतिज्ञहरूमा उनलाई अध्ययनशील नेताका रूपमा चिनिन्छ । बिरामी भएर आराम गरिरहेका वेला पनि पुस्तक पढ्ने गरेका छन् कि छैनन् रु संसद् भवन परिसरमा पत्रकारहरूले जिज्ञासा राखे । उनले सहज उत्तर दिए, ‘केही समययता म पुस्तकहरू पनि पढ्न थालेको छु । तर, धेरै समय पढ्न भने पाउँदिनँ, उपचारका क्रममा नै रहनुपर्ने भएकाले धेरै समय भने निकाल्न पाउँदिनँ ।’ आचार्य परिवार गत दसैँ–तिहारमा केरला गएको थियो । त्यसवेला पनि आचार्यले धेरै किताब किनेर पढेको उनका स्वकीय सचिव रामचन्द्र घिमिरेले नयाँ पत्रिकालाई बताए ।
यसरी बित्छ आचार्यको दैनिकी
परिवारका अनुसार आचार्य दैनिक बिहान ५ बजे उठिसक्छन् । त्यसपछि नियमित एक्सरसाइज सुरु हुन्छ । झन्डै दुई घन्टा एक्सरसाइज गरेपछि पौने ८ बजे सामान्य ब्रेकफास्ट लिन्छन् । ८ बजेर ३५ मिनेटमा उनी अकुपे्रसर लिन कालिमाटीमा रहेको डा। हरिमाया प्रधानको निजी क्लिनिक पुग्छन् । बिहान ९ बजेदेखि साढे ११ सम्म त्यहाँ फिजियोथेरापी, अकुपे्रसर गरेर घर फर्किन्छन् । घर फर्केपछि स्नान गरेर खाना लिन्छन् । त्यसपछि केही समय आराम गर्छन् । तीन बजे थप एक्सरसाइजका लागि उनी गंगालाल हृदयरोग केन्द्र पुग्छन् । त्यहाँ डा। शैली केसीसँग फिजियोथेरापी गराउँछन् । ४ बजे घर फर्किपछि सामान्य हिँड्डुल गर्छन् । कोठामा रहँदा किताब पढ्ने, साथीभाइ भेट्ने काममा आफूलाई व्यस्त बनाउँछन् । बेलुकी ९ बजेपछि भने उनी सुत्न जान्छन् ।आजको नयाँ पत्रिकामा खबर छ।








