काठमाडौं, २१ माघ ।   कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु चुनावमा २८ वर्षे उमेरहदको विवादमा नअल्झी चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् । बिहीबार कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, नेविसंघका पदाधिकारी, काठमाडौंका सरकारी क्याम्पसका स्ववियु सभापति, एकाइ सभापतिसहितको बैठकमा देउवाले यस्तो निर्देशन दिएका हुन् ।

सभापति–महामन्त्री एक स्वर, एक्लिए पौडेल
पदाधिकारी र नेविसंघका नेताबीचको बैठकमा उमेरहद २८ वर्ष ठीक भन्ने पक्षमा सभापति देउवा र महामन्त्री डा.शशांक कोइराला रहे । ‘२८ वर्षे उमेरहदका लागि त्रिवि सभाले गरेको निर्णय सच्याउन सकिँदैन । यसपटक नराखौँ अर्कोपटक राखौँ भन्ने हो भने अर्कोपटक पनि यस्तै हुन्छ । त्यसैले अहिले यसको विरोध नगरौँ,’ सभापति देउवाले बैठकमा भने ।

नेविसंघका यी नेता जो उमेरहद हटाउनुपर्ने पक्षमा उभिए
नेविसंघका पदाधिकारी, काठमाडौंका क्याम्पसका स्ववियु सभापति, एकाइ सभापतिसहितलाई बोलाइएको थियो । बैठकमा मनोजमणि आचार्य, उर्मिला थपलिया, साधना घिमिरे, मनोज वैद्य, रमेश खड्का, रञ्जिता कार्की, रमेश रिजाल, सन्तोष पौडेलसहितका नेताले उमेरहद हटाउन पार्टीले प्रभावकारी पहल नगरेको भन्दै आक्रामक ढंगले आफ्नो भनाइ राखेका थिए ।

‘नेविसंघका ३२ वर्षे उमेरहद भनियो, तर यसपटकको महाधिवेशनलाई बाध्य पारिएन, अर्कोपटकलाई भनियो,’ नेता आचार्यले भने, ‘संविधान संशोधन गरेर मधेसी मोर्चालाई ल्याउन हुने, तर त्रिवि सभाले गरेको निर्णय अकाट्य किन ? त्रिवि सभाको निर्णय धर्मग्रन्थ हो ? किन यो उल्ट्याउन नमिल्ने ?’ नेतृ थपलियाले ठूलो जनाधार बोकेको संस्थामा उमेरहद लगाउँदा देशभर रहेका नेतालाई व्यवस्थापमा समस्या रहेको बताइन् । पूर्वअध्यक्षका रूपमा बोल्दै महेन्द्र शर्माले उमेरहदको विषयमा धेरै गुनासो आएको भन्दै केही समय रोकेर भए पनि चुनाव गर्नुपर्ने सुझाव दिएका थिए ।

असन्तुष्टहरूले उमेरहद कायम गरिए नेविसंघका उम्मेदवारलाई जिताउन नलाग्ने भन्दै आक्रोश पोखेपछि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले उनीहरूलाई सम्झाएका थिए । ‘पार्टीले गरेको निर्णय नमान्ने ? उम्मेदवारलाई जिताउन नखोज्ने, कस्तो संगठन गर्दै छौँ ?’ आक्रामक ढंगले प्रस्तुत भएका महतले भने ।

नेविसंघका काठमाडौं अध्यक्ष मनोज वैद्य र पशुपति क्याम्पसका एकाइ अध्यक्ष रमेश खड्काले अखिल र क्रान्तिकारीले पशुपतिमा क्याम्पस, नेपाल कमर्स क्याम्पसमा दसौँ लाख खर्चेर भर्ना गर्दा नेविसंघ मूकदर्शक भएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

अखिल र क्रान्तिकारीले लाखौँ रुपैयाँ खर्च गरी आफूनिकटका विद्यार्थी भर्ना गरेको विषय उठेपछि सभापति देउवाले यस विषयमा अध्यक्ष महरलाई यस्तो हल्ला के हो ? किन निर्देशन नगरेको ? भन्दै प्रश्न गरेका थिए । जवाफमा महरले नेविसंघले स्ववियु चुनाव हुन नदिएको सन्देश दिन नहुने मात्रै बताए । महरले अब जसरी पनि स्ववियु चुनाव गर्नुपर्ने भन्दै यसको तयारीमा लाग्ने बताएका थिए ।

किन उभियो कांग्रेस २८ वर्षे उमेरहदमा ?
‘पार्टीमा नेता कार्यकर्ता व्यवस्थापनका विषय पनि छन् । अहिले असन्तुष्टका माग सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नाजायज देखिँंदैन,’ नेविसंघका पूर्वसभापति गुरुराज घिमिरेले नयाँ पत्रिकासँग भने, ‘त्रिवि सभाले यसअघि एकपटकलाई नलगाउने, तर अर्कोपटकदेखि लगाउने पहिल्यै घोषणा गरेको थियो । तर, समयमा स्ववियु चुनाव हुन सकेन । एकैपटक उमेरहद तोकेर आयो ।’

जिम्मेवारी दिइन्छ, चुनावी तयारीमा लाग्नुस्
२८ वर्षे उमेरहद खारेजीको माग गर्ने असन्तुष्ट विद्यार्थी नेतालाई देउवाले पार्टीमै व्यवस्थापन गर्ने आश्वासन दिँदै अब विवादमा नअल्झी चुनावको तयारीमा लाग्न निर्देशन दिए । नेविसंघका केही नेताहरूले बारम्बार उमेरहद हटाउने विषयमा अझै पहल गर्न आग्रह गरिरहे पनि सभापति देउवाले युवा विद्यार्थी नेताको कामको मूल्यांकन पार्टीले गर्ने बताएका थिए ।

‘साथीहरूको योगदानको मूल्यांकन पार्टीले गर्छ,’ देउवाले बैठकमा भने, ‘अब स्ववियु चुनाव धेरै टाढा छैन । उमेरको यो विवाद छाडेर अब तपाईंहरू निर्वाचनमा होमिनुस् । नेविसंघलाई जिताउने गरी तयारी गर्नुहोस् ।’ देउवाले विद्यार्थी राजनीति गरी उमेर गुजारेका नेतालाई पार्टीका विभिन्न तह र निकायमा व्यस्थापन गर्ने आश्वासन दिएका हुन् ।

देउवाको यस्तो भनाइपछि एक कदम अघि सरेर महामन्त्री कोइरालाले नेविसंघका नेताहरूको जिम्मा आपूmले लिने आश्वासन दिए । ‘तपाईंहरू चिन्ता नगर्नुस्, २८ वर्षे उमेरहदले केही गर्दैन,’ कोइरालाले असन्तुष्टलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरूको व्यवस्थापनको जिम्मा म लिन्छु ।’

पौडेलको तर्क : कसरी मूल्यांकन गर्नुहुन्छ ?
सभापति र महामन्त्रीले विद्यार्थी नेताहरूको व्यवस्थापन गर्ने बताइरहँदा नेता रामचन्द्र पौडेलले व्यावहारिक कार्यान्वयनको पाटोलाई उठाए । ‘तपाईंहरू दुईजनाले भन्नुभयो, तर विद्यार्थी नेतालाई व्यवस्थापन गर्ने कामलाई व्यवहारमा कसरी लागू गर्नुहुन्छ ?’ पौडेलले प्रश्न गर्दै भने, ‘कार्यकर्ता, साथीहरूलाई मूल्यांकन गर्ने भनाइ मात्रै हो कि लागू नै गर्नुहुन्छ ?’ सभापति र महामन्त्रीको मत मिलेपछि २८ वर्षे उमेरहद नराख्नुपर्ने पक्षमा लबिङ गर्दै आएका पौडेलको मत कमजोर बनेको थियो ।

बैठकमा सभापति देउवा, नेता पौडेल, महामन्त्री डा.कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकशमान सिंह, विमलेन्द्र निधिसहितका नेता सहभागी थिए । बैठकमा नेविसंघका अध्यक्ष नैनसिंह महर, नेविसंघका पूर्वअध्यक्षहरू गुरुराज घिमिरे, गोविन्द भट्टराई, रञ्जित कर्ण, महेन्द्र शर्मासहितका नेताहरू सहभागी थिए ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia