Rekha-Komal-Oli-in-RPP prajatantraकाठमाडौं, २४ माघ । आगामी फागुन ६ गतेदेखि राजधानी काठमाडौंमा हुन गइरहेको राप्रपाको एकता महाधिवेशनका लागि करिब ८० प्रतिशत प्रतिनिधि छनोट भइसकेका छन् । माघ २१ र २२ गते सम्पन्न क्षेत्रीय अधिवेशनद्वारा ८० प्रतिशत प्रतिनिधि छनोट भइसकेका हुन् । बाँकी २० प्रतिशत प्रतिनिधि २५ गते हुने जिल्ला अधिवेशन तथा भ्रातृसंस्थाबाट छानिने छन् भने केही प्रतिनिधि मनोनीत हुनेछन् ।

अध्यक्ष पदका तीनजना दाबेदारहरू पशुपतिशमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीमध्ये कसको पक्षका प्रतिनिधि धेरै आएका छन् ? भन्ने जोडघटाउ सुरु भएको छ । राप्रपाका केन्द्रीय सदस्य बसन्तमानसिंह अधिकारीले भने– ‘७५ प्रतिशत प्रतिनिधिहरू राप्रपा नेपालको पृष्ठभूमि भएका छन्, तर उनीहरू सबैले कमल थापालाई समर्थन गर्ने अवस्था छैन, डा. लोहनीले पनि ती भोट लैजाने सम्भावना छ ।’

अर्का केन्द्रीय सदस्य महेश्वर रोकायले सर्सती हेर्दा राप्रपाको पृष्ठभूमि भएका ५५ र राप्रपा नेपालको पृष्ठभूमि भएका ४५ प्रतिशत प्रतिनिधि निर्वाचत भएको बताए । ‘२५ गते सबै जिल्ला अधिवेशन सकिएपछि तस्बिर क्लियर हुनेछ, अहिले हेर्दा पहाडमा राप्रपा नेपाल र तराईमा राप्रपाको वर्चश्व देखिएको छ,’ उनले भने । समाचार स्रोतका अनुसार पहाडी जिल्लामा राप्रपाको पृष्ठभूमि भएकालाई गणतन्त्रवादीको आरोप लगाउँदै लखेटिएको छ । यस्तो लखेटाईमा तनहुँकी केन्द्रीय सदस्य दुर्गा श्रेष्ठ र लमजुङ जिल्लाकी केन्द्रीय सदस्य विन्दु पहाडी परेका छन् । उनीहरूलाई राप्रपा नेपालको पृष्ठभूमि भएकाहरूले लखेटेका हुन् । शाही शासनकालमा मन्त्रीसमेत रहेकी दुर्गा श्रेष्ठले वडामै हारिन् भने तनहुँ जिल्ला अध्यक्ष रहेका उनको श्रीमान् रेशमबहादुर श्रेष्ठले क्षेत्रीय अधिवेशनमा चुनाव हारे । तनहुँ जिल्लाबाट शतप्रतिशत बाजी राप्रपा नेपालले मारेको छ । तनहुँ कमल थापाको पुख्र्यौली थलो पनि हो ।

यसैगरी, लमजुङमा पनि राप्रपा नेपालले एकलौटी बनाएको छ । राप्रपाको पृष्ठभूमि भएकी विन्दु पहाडी आफ्नो गृहजिल्ला लमजुङ जान सकिनन् । उनी बलराम थापा नाम गरेका एकजना म्यानपावर व्यवसायीको सहयोग लिएर नवलपरासीबाट प्रतिनिधि बनिन् । राप्रपा नेपालका गोविन्द खनियाँ यसपटक लमजुङ नै गएर प्रतिनिधि बने । प्रतिनिधिहरूको जोडघटाउका आधारमा रणनीति तय गर्ने अभियानमा राणा, थापा र लोहनी जुटेका छन् । आफ्नो अवस्था कमजोर रहे अध्यक्ष पद अर्कालाई छाडेर अन्य पदका लागि बार्गेनिङ गर्ने रणनीतिमा तीनैजना छन् । आफूले चुनाव जित्न नसक्ने परिस्थिति आए छोरीलाई स्थापित गर्ने सर्त राणाले अघि सार्ने भएका छन् । यसका लागि राणाले छोरी देवयानीलाई दोलखाबाट महाधिवेशन प्रतिनिधि बनाइसकेका छन् । आफूले जित्ने सम्भावना रहेसम्म मरिमेटेर लाग्ने, तर केही सिप नलाग्ने अवस्थामा डा.लोहनी र कमल थापामध्ये कसलाई सहयोग गर्दा आफ्नी छोरीको राजनीतिक भविष्य सुनिश्चित हुन्छ, त्यसै गर्ने रणनीति राणाको छ ।

तत्कालीन युवराज दीपेन्द्र शाहसँग नाम जोडिएकी देवयानीको विवाह भारतीयमूलका रसियन नागरिकसँग भइसकेको छ । तर कागजी रूपमा डिभोर्स गराएर देवयानीलाई नेपालकै राजनीतिमा स्थापित गराउने योजना राणाको छ । यसैगरी, राजावादीहरूको भोट दुईतिर बाँडिदा राणाले जित्नसक्ने भन्दै डा.लोहनी र कमल थापा एक ठाउँमा उभने प्रयासमा छन् । यसका लागि थापाले डा.लोहनीलाई फकाई फुल्याई गर्दैछन् । २५ गते हुने जिल्ला अधिवेशनमा अध्यक्ष थापा आफ्नो गृहजिल्ला मकवानपुर नगएर डा।लोहनीको गृहजिल्ला नुवाकोट जाँदैछन् ।

केन्द्रीयस्तरका प्रायः सबै नेताहरूले आफ्ना छोराछोरी, श्रीमान्, श्रीमतीलाई प्रतिनिधि बनाएर ल्याएका छन् । राणाले छोरी देवयानीलाई आफूले चुनाव लड्ने जिल्ला सिन्धुपाल्चोकबाट प्रतिनिधि नबनाएर किन दोलखाबाट बनाए ? भन्ने चर्चा पनि त्यत्तिकै चलेको छ । समाचार स्रोतका अनुसार नेपाली सेनासँग राम्रो हिमचिम भएका सोभियत उप्रेतीलाई नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको नजिक रहने गरी फिट गरिएको थियो । भीमबहादुरको निधनपछि काजफिर्ता भएका तिनै उपे्रतीलाई प्रयोग गरेर राणाले छोरी देवयानीलाई दोलखा पठाएका हुन् । त्यसबाहेक, फिल्मी अभिनेतृ रेखा थापा, लोक गायिका कोमल वली, ‘समाजसेवी’ दीपक मनांगेलगायतको ठूलो समूह महाधिवेशन प्रतिनिधि बनेर आएको छ । उनीहरू सबैको न्यूनतम माग भनेको केन्द्रीय सदस्य हो । कोमल ओलीले त आफूलाई केन्द्रीय सदस्य र दाजु यमेन्द्र ओलीलाई दाङ जिल्ला अध्यक्षको माग गरेकी छन् ।तरुण साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia