काठमाडौं । सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीमाथि अनुसन्धान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले म्याद थप गरेकोे छ । यससँगै उनी कम्तीमा चार दिन हिरासतमै रहने भएका छन् ।संगठित अपराधको मुद्दाअन्तर्गत एसएसपी खत्रीमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन तथा थप अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थपिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी मनोज न्यौपानेले बताए ।
सुन तस्करीमा संलग्न भएको पुष्टि भएपछि आइतबार सिआइबीले उनलाई प्रहरी प्रधान कार्यालयबाट नियन्त्रणमा लिएको थियो । एक महिनाअघि अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको करिब ३४ किलो सुन तस्करीमा एसएसपी खत्रीको संलग्नता रहेको ब्युरोले जनाएको छ । दुबईबाट ल्याएको सुन तस्करी हुँदा एसएसपी खत्री विमानस्थलमा कार्यरत थिए । सिआइबीको हिरासतमा राखी खत्रीमाथि थप अनुसन्धान भइरहेको सिआइबी कार्यालयले जनाएको छ ।
अब के हुन्छ ?
प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेपछि कानुनी रूपमा एसएसपी खत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने अधिकार सिआइबीले पाएको छ । प्रहरीले मंगलबारदेखि बयान प्रक्रिया अगाडि बढाउने भएको छ । त्यसपछि उनीमाथि लागेको आरोपको सबुत प्रमाणको परीक्षण हुनेछ ।
बयानमा अनुसन्धान हुँदा थप कुरा खुल्न आएमा फेरि थप अनुसन्धानका लागि उनले दिएको बयानको आधारमा अरूलाई पनि प्रहरीले नियन्त्रणमा लिनेछ । खत्रीले गल्ती गरेको देखिएमा सबुत प्रमाणको आधारमा प्रहरीले उनीमाथि अदालतमा अभियोगपत्र दर्ता गर्नेछ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।








