काठमाडौँ। सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन्। बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई, तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए।
सूदूरपश्चिमका तराईका जिल्ला, मध्यभागका तराई र पूर्वको जिल्लामा पनि दिउँसोको समयमा भन्दा मध्यान्हपछि वर्षा हुने महाशाखाका विश्लेषण छ। २९ जेठमा पूर्वको झापा हुँदै प्रवेश भएको मनसुन सोमवार (१२ गते) मात्र सूदूरपश्चिम पुगेको हो। यसबीचमा खासै धेरै वर्षासमेत भएको छैन।‘ मुसलधारे वर्षा हुन अझै केही समय लाग्ने देखिन्छ,’ उनले भने, ‘देशैभर केही दिन यता रातको समयमा वर्षा भइरहेको छ, अझै त्यस्तै वर्षाको संभावना छ।’
मनसुन सुरु भएको दुई साता बितिसके पनि अहिलेसम्म मुलुकका कुनै पनि भूभागमा भारी वर्षा भएको छैन। जुन भन्दा जुलाई ९असार तेस्रो साता र साउन० मा मनसुनी वर्षा बढी हुने गरेको छ। सोमवार पोखरामा ८७ मिलिमिटर वर्षा भएको थियो। यो नै यो वर्षको मनसुनको सबैभन्दा बढी वर्षा हो। सामान्यतया ५० देखि ६० मिलिमिटरसम्म मात्र वर्षा हुने संभावना रहेको पौडेलले उल्लेख गरे। महाशाखाले मंगलवार बुलेटिन प्रकाशित गर्दै मंगलवार राती पनि देशका प्राय भूभागहरुमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ। आजको कान्तिपुरमा खबर रहेको छ।








