काठमडौं । प्रम पत्नी डा. आरजु राणाको डायरीमा साताअघि नै नाताले दाई पर्ने पशुपति समशेर राणाले मन्त्रीको नाम टिपाएका थिए । राप्रपा सरकारमा नआएको भन्दै मन्त्री माग्न पुग्ने कांग्रेस सांसदको घेराबाट हैरान भएको देउवा त्यो घेराअन्त्य गर्न पनि पशुपतिबाट आउकालाई मन्त्री नियुक्त गरिहाल्न चाहन्थे ।
तर, ती व्यक्ति मन्त्री बन्नासाथ कमल थापाले संसदीय दलबाट कारबाही गर्ने (सांसद पद निलम्बित हुने गरी) तयारी थाल्दा पशुपतिले नै आफ्ना सांसदलाई मन्त्री बन्न रोकी राखे ।
पशुपतिले प्रत्यक्षतर्फ निर्वाचित दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापासहित जयन्त चन्दलाई क्याबिनेट मन्त्रीका लागि र रमेश लामा, बबिना मोक्तान लावतीसहित कमल थापाको साथ छाड्न तयार भएकाहरुलाई राज्यमन्त्री बनाउने गरी नाम सिफारिस गरिसकेका थिए ।
अहिले बन, शान्ति, विज्ञान, वातावरण र उद्योग मन्त्रालय खालि छन् । १९ सांसद र ६६ केन्द्रीय सदस्यसहित पशुपति समशेर नेतृत्वमा निर्वाचन आयोगमा आइतबार राप्रपा प्रजातान्त्रिक दर्ता भएको छ ।
संयोग कस्तो भने, बहिनीज्वाइँ प्रधानमन्त्री भएको बेला, उनकै अनुकूलताका लागि पहिला ज्वाइँले कांग्रेस फुटाउँदा पछाडि झुण्ड्याएको ‘प्रजातान्त्रिक’ शब्द जोडेर दल दर्ता भएको छ ।राप्रपा विभाजनपछि मन्त्री माग्ने कांग्रेस सांसद आइतबारदेखि नै बालुवाटार धाउन छाडेका छन् ।जनआस्था साप्ताहिकमा खबर छ।








