०७० को संविधानसभा र ०७४ को स्थानीय निर्वाचन आधार
एमाले र माओवादी केन्द्रले सकेसम्म धेरै दललाई गठबन्धनमा समेट्ने प्रयास गरिरहेका छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अरूलाई बाँडेर बचेका सबै निर्वाचन क्षेत्रमा ६०/४० गर्ने उनीहरूको समझदारी छ । प्रदेश र केन्द्रको क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन ०७० सालको मत परिणाम र ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामलाई मुख्य आधार मान्ने भएका छन् । ०७० मा हारे पनि पछिल्लो निर्वाचनमा यदि धेरै वडाध्यक्ष जितेको छ भने त्यो क्षेत्रमा बढी जित्ने दलले नै टिकट पाउनेछ ।
हरेक जिल्लामा दुवै दलको प्रतिनिधित्व हुने गरी बाँडफाँड
हरेक जिल्लामा केन्द्र र प्रदेशमध्ये दुवै दलले कम्तीमा एउटा सिट पाउने समितिमा समझदारी बनेको छ । यो समझदारीअनुसार एउटा दलले केन्द्रको सिट लिए अर्को दलले कम्तीमा प्रदेशको एउटा सिट पाउनेछ । ‘कुनै पनि जिल्लामा एउटा दल निल नहुने गरी सिट बाँडफाँड गर्ने समझदारी भएको छ,’ समितिका एक सदस्यले भने । यसअनुसार माओवादी केन्द्र निल भएको धनकुटामा उसले प्रदेशतर्फको प्रत्यक्षमा भए पनि कम्तीमा एक सिट पाउनेछ । त्यस्तै, एमाले निल भएको गोरखामा उसले संघको सिट नपाए प्रदेशतर्फको एक सिट पाउनेछ ।
हारेको स्थानमा पनि माओवादीले उम्मेदवारी पाउने
नयाँ शक्ति र अन्य दलको सिटबारे छलफल
नयाँ शक्ति, अन्य पार्टी र समूहलाई कति सिट दिने विषय शीर्ष नेता रहेको एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने भएको छ । नयाँ शक्तिले लिने सिटका विषयमा शुक्रबार डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । ‘सिटका विषयमा उहाँहरूले छलफल गर्नुभयो, पहिले संख्या टुंगो लागेपछि समितिमा छलफल हुन्छ,’ नयाँ शक्तिका नेता तथा समितिका सदस्य गंगानारायण श्रेष्ठले भने । नेपाल परिवार दलले एमालेको सूर्य चिह्नमा चुनाव लड्ने तीनबुँदे सहमति गरेको छ । शुक्रबार एमाले अध्यक्ष ओलीनिवास बालकोटमा भएको सहमतिमा एमालेको ह्विप मान्ने, सिट संख्या सहमतिमा टुंगो लगाउने र एमाले उम्मेदवारलाई जिताउने उल्लेख छ ।
राप्रपा र लोहनी समूहलाई गठबन्धनमा तान्ने कसरत
गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने ओली र प्रचण्डको प्रयास छ । त्यसैले नाम नै वाम प्रगतिशील गठबन्धन राखिएको थियो । उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् । गठबन्धन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कमल थापाले शुक्रबार एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका छन् । करिब ४५ मिनेटको छलफलमा चुनावी तालमेलबारे विभिन्न विकल्प र पछिल्लो राजनीतिको समीक्षा भएको थापाले जानकारी दिए ।अाजको नयाँ पत्रिकामा खबर छ।








