विराटनगर, २८ बैशाख । २० दिनअघि बेपत्ता भएकी मोरङ, रंगेलीकी एक किशोरीलाई एउटा फोटोको आधारमा खोजी गर्दै जाँदा भारतको गाजियाबादमा भेटेर उद्धार गरिएको छ । घरबाट सम्पर्कविहीन बनेपछि अनेक खोजी गर्दा पनि फेला नपरेकी उनलाई उद्धारकर्ता संस्थाको टोलीले फेला पारेको थियो ।
भारतीय प्रहरीको समेत सहयोगमा उनलाई बुधबार विराटनगर ल्याइएको छ । एकोहोरो टोलाइरहने अनि कसैले केही सोध्दा झस्कने गरेकी किशोरीलाई उपचार र परामर्शपछि अभिभावकको जिम्मा लगाइने भएको छ । केही दिन माइती नेपालमा राखेर उपचार र परामर्श दिइने लागिएको हो । किशोरीलाई माइती नेपालको जिम्मा लगाइएको छ ।
फकाएर लैजाने पुरुषलाई भारतबाटै ल्याएर बुधबार सुनसरी, इटहरीस्थित इलाका प्रहरीको जिम्मा लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई झिकाएर उजुरी दर्ता गरी अनुसन्धान र कारबाही प्रक्रिया सुरू गरेको छ ।
सुनसरीमा रहेको संस्था रिलिफ नेपाल फाउन्डेसनका प्रतिनिधिले विपन्न सरदार समुदायकी १४ वर्षीया ती किशोरीको उद्धार गरेर फर्काएका हुन् । संस्थाकी अध्यक्ष रबिना खातुनका अनुसार वैशाख ७ गते गाउँनजिक लागेको मेलामा गएका बेला भारतको बिहार घर भएका मुजफ्फर मियाँले भगाएका थिए ।
३५ वर्षीय उनी केही महिनायता रंगेलीस्थित ससुरालीमा बस्दै आएका थिए । दुई श्रीमती र चारवटा छोराका बाबु मियाँले आफूले बिहे गर्ने र भारतका ठूला सहर घुमाइदिने भन्दै फकाएर लगेका थिए । ८ कक्षा पढ्दै गरेकी छोरी एकाएक सम्पर्कविहीन बनेपछि आमा र आफन्तले खोजी गरेका थिए । किशोरीका बुबा रोजगारीका लागि मलेसियामा छन् ।
त्यसैबेला रंगेलीस्थित प्रहरी कार्यालयमा खोजीका लागि निवेदन पनि दिइएको थियो । पछि बुझ्दै जाँदा मियाँले भारत लिएर गएको थाहा पाएपछि किशोरीका आमा र आफन्त उद्धारकर्ता संस्थाको सम्पर्कमा पुगेका थिए ।
किशोरीलाई गाजियावादको महाराजपुरस्थित ‘कोठी’ मा राखिएको उनैले पठाएको फोटोका माध्यमले पत्ता लागेको थियो । सुरुका केही दिन मियाँले आफूसँगै राखेको किशोरीले बताएकी छन्।मियाँ बाहिर निस्केका बेला उनको फोनबाट किशोरीले आमा र आफ्ना ठूलोबुबालाई सम्पर्क गरी आफूलाई घर फर्काउन भन्दै रुने गरेका थिइन्। कान्तिपुर दैनिक








