काठमाडौं, २० जेठ ।   द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट घटाइएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन-२०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो। आगामी माघसम्म कार्यअवधि रहेको आयोगको म्याद पटक-पटक गरी दुई पटक थपिसकिएको छ।

आयोगमा अहिलेसम्म ६३ हजार ४ सय उजुरी जम्मा भएकोमा एउटै उजुरी फछ्र्यौट हुन नसकेको हो। प्रदेशहरूबाट संकलित उजुरीमध्ये करिब २ हजार उजुरी प्रारम्भिक अनुसन्धानपछि आयोगमै पठाइएको आयोगका सूचना अधिकारी सूर्यवंश शर्मा कँडेलले नेपाल जानकारी दिए।

आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले भने पर्याप्त बजेट नहुँदा काम गर्न कठिनाइ भएको दाबी गर्दै भने, ‘गत वर्ष १४ करोड बजेट छुट्याइएको थियो। यो वर्ष त गत वर्षभन्दा पनि २ करोड कम (१२ करोड रुपियाँ) बजेट छुट्याइएको रहेछ।’

सो रकम विज्ञ, कार्यालय व्यवस्थापन, तलब भत्तालगायत शीर्षकमै खर्च हुने बताउँदै उनले तर्क गरे, ‘सरकारले पर्याप्त बजेट र साधन स्रोत उपलब्ध गराए २०७६ माघसम्म सबै उजुरी फछ्र्यौट भइसक्छ।’ यद्यपि अध्यक्ष गुरुङले आफूहरू अधिकतम् उजुरी फछ्र्यौट गर्नमा केन्द्रित भएको जिकीर गरे।

आयोगले सबै प्रदेशमा सहन्यायाधिवक्ताको नेतृत्वमा कानुन व्यवसायमा संलग्न व्यक्तिसहितको टोली गठन गरेको छ। उक्त टोलीले घटनाको प्रकृति हेरेर प्रतिवेदन तयार गर्छ। आयोगले हत्या, बलात्कार, यातना, आगजनी, यौनजन्य हिंसा, सम्पत्ति कब्जालगायत शीर्षकका उजुरी प्रदेशस्तरमा पठाएर अनुसन्धान जारी राखिएको जनाएको छ।

आयोगले द्वन्द्वका हत्या, अपहरण तथा शरीरबन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा तोडफोड वा आगजनी, घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन, अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका अमानवीय कार्य वा मानवता विरुद्धका अन्य अपराधका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाई पीडितलाई क्षतिपूर्ति प्रदान गर्न सक्नेछ।नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

trusted online casino malaysia