काठमाडौं, ३१ जेठ । सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ तस्करीमा संलग्न रहेका अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीलाई सशस्त्र प्रहरी बलले बुधबार निलम्वन गरी कारवाही अगाडि बढाएको छ।
घटनामा संलग्न रहेका अन्य तीन जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलनकुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई पनि निलम्वन गरी कारवाही अगाडि बढाएको सशस्त्र प्रहरी बलको सुचना शाखाले जनाएको छ।
डिएसपी भण्डारी सहितको टोलीले जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर तस्करीकालागि धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटाको मूलघाटमा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेशको टोलीले नियन्त्रणमा लिएको थियो।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो।
सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानवीन समिति गठन गरिएको थियो।नेपाल समाचारपत्र दैनिकबाट








