काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।
पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।
‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।
अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।
दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने रु’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताए ।
‘त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिएँ भन्दै लिखित राजीनामापत्र बुझाएर उहाँ बैठकबाट बाहिरिनुभो,’ ती सचिवालय सदस्यले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।








