काठमाडौं, ३० साउन । संसद्मा गएको नागरिकतासम्बन्धी विधेयकमा स्थानीय तीन जनाको सर्जमिनका आधारमा नागरिकता दिने प्रावधान छ । तर सर्जमिनबाट नागरिकता दिन नहुने भन्दै सत्तापक्षकै सांसदले विरोध गरेका छन् । नागरिकता ऐन २०६३ को संशोधन गर्ने विधेयकले स्थलगत रूपमै नागरिकता बाँड्ने भन्दै त्यस्तो प्रावधान हटाउन उनीहरूले माग गरे ।
नेकपा नेता भीम रावलले संविधानसँग बाझिने गरी नागरिकता संशोधन विधेयक ल्याइएको भन्दै आपत्ति जनाए । ‘राजनीतिक सहमतिका आधारमा २०६३ सालमा एकपटकका लागि तीन जनाको सर्जमिनका आधारमा टोली खटाएर नागरिकता वितरण गरिएको हो’, मंगलबार नागरिकता ऐन संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा प्रतिनिधिसभामा बोल्दै रावलले भने, ‘नागरिकता नियमित रूपमा टोली खटाएर वितरण गर्ने चिज होइन । खारेज भइसकेको अन्तरिम संविधानको व्यवस्था अहिले किन राखियो ? ’
मधेस आन्दोलनपछि २०६३ कात्तिक २२ मा सरकारी कागजात पेश गर्न नसके तीन जना स्थानीयको सर्जमिनका आधारमा नागरिकता वितरण गर्नेसहमति थियो । त्यसअनुसार गाउँगाउँमा टोली खटाएर ०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्मेका व्यक्तिलाई अंगीकृत नागरिकता वितरण गरिएको थियो ।
सर्जमिनका आधारमा विगतमा नागरिकता दिँदा दुरूपयोग भएको पूर्व गृहसचिव श्रीकान्त रेग्मीले बताए । ‘नागरिकताका निम्ति सबै प्रमाण पु¥याउनैपर्छ, स्थानीयले सिफारिस गर्दा वाञ्छनीय सहयोग पुग्छ भन्ने मलाई लाग्दैन’, भण्डारीले भने, ‘त्यसैले नागरिकता वितरण खुकुलो होइन, कठोर हुनुपर्छ । यो प्रमाणपत्र मात्रै होइन, राष्ट्रियतासँग जोडिएको विषय हो ।’
०६३ को प्रावधानले जन्मका आधारमा विदेशीले समेत नागरिकता लिएको भन्नेबारे छानबिन हुनुपर्ने नेकपाका अर्का सांसद कृष्णभक्त पोखरेलले जिकिर गरे । उनले भने, ‘फेरि पनि त्यसरी नै नागरिकता वितरण गर्ने कुरा मान्य हुन सक्दैन ।’
नागरिकता ऐन २०६३ मा सरकारी कागजात पेश गर्न नसके सम्बन्धित वडाका तीन जना नागरिकता प्राप्त व्यक्तिले सनाखत गरे स्थलगत रूपमै अंगीकृत नागरिकता दिने व्यवस्था थियो । तर सरकारले संशोधन विधेयकमा ‘कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एकजना पदाधिकारी वा सदस्यले’ सनाखत गरे नागरिकता दिने प्रस्ताव छ ।
सरकारले २०७२ असोज ३ (नयाँ संविधान जारीपूर्व) अंगीकृत नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रस्ताव विधेयकमा गरेको छ । ‘नागरिकता देशको स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रतासँग जोडिन्छ,’ नेता रावलले भने, ‘यसमा गम्भीर हुनैपर्छ ।’
नेमकिपा सांसद प्रेम सुवालले दुई ठूला छिमेकी र खुला सीमानाका कारण नागरिकता वितरण प्रावधान कडा हुनुपर्ने दाबी गरे । ‘नागरिकता सिनेमा र बसको टिकट किनेजस्तो होइन,’ सुवालले भने, ‘नागरिकतामा कडाइ नगर्ने हो भने हाम्रो सार्वभौमिकता र स्वतन्त्रतामाथि आँच पुग्नेछ ।’
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि बसको टिकटको भाउमा नागरिकता वितरण गर्ने प्रावधान रोक्नुपर्ने बताइन् । ‘हाम्रा छिमेकी ठूला छन्, सीमाना खुला छ,’ पौडेलले भनिन्, ‘हामीले नागरिकतामा कठोर हुनैपर्छ ।’
सांसद हृदयेश त्रिपाठीले भने जन्मका आधारमा नागरिकता प्राप्त गरिसकेका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन संशोधन विधेयक ल्याइएको बताए । ‘जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन कुनै पनि ऐन कानुन बाधक थिएनन्,’ त्रिपाठीले भने, ‘तर हाम्रो मानसिकतामा समस्या थियो ।’
आमाको नामबाट नागरिकता दिन सरकारी संयन्त्रले बाधा गरिरहेको भन्दै त्रिपाठीले आपत्ति जनाए । संशोधनका लागि पेश भएको विधेयकमा बाबुको पहिचान नखुले पनि नेपाली महिलाबाट नेपालमा जन्म भए नेपालमा बसोबास गरेको व्यक्तिलाई वंशजको आधारमा नागरिकताको प्रस्ताव गरिएको छ ।
नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारवाही चलाएलगत्तै नेपाली नागरिकता प्राप्त गर्दै आए पनि ६ महिनाभित्र विदेशी नागरिकता परित्याग गरेको निस्सा पेश गर्नुपर्ने प्रस्ताव संशोधन विधेयकमा गरिएको छ ।
६ महिनाभित्र निस्सा पेश गर्न नसके नेपालको नागरिकता स्वतः रद्द हुने प्रस्ताव विधेयकमा छ । वंशजको आधारमा नागरिकता लिन चाहनेलाई आमा वा बाबुको नामबाट नागरिकता लिन सक्ने, स्थायी ठेगानासहित प्रदेशको पहिचान खुलाउनुपर्ने र लैंगिक पहिचान (महिला, पुरुष वा अन्य) समेत राख्नुपर्ने संशोधनमा प्रस्ताव छ ।
झुटो विवरण पेश गरी नागरिकता लिने र झुटो विवरण पेश गरी नागरिकता दिलाउन सहयोग गर्नेलाई विधेयकमा सजायको मात्रा बढाउने प्रस्ताव छ । विधेयकमाथि सांसदहरूलाई संशोधन दर्ता गर्न मंगलबारबाटै सुरु हुने गरी ७२ घण्टे समय दिएको संसद सचिवालयले जनाएको छ ।
नागरिकता विधेयकमा नयाँ प्रस्ताव
–आमा वा बाबुको नामबाट वंशजको नागरिकता
–०७२ असोज ३ अघि अंगीकृत नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशज नागरिकता
–कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्ति र सम्बन्धित स्थानीय तहको एकजना पदाधिकारी वा सदस्यले सनाखत गरे अंगीकृत नागरिकता
–नेपालीसँग बिहे गरेकी विदेशी महिलाले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश नगरे नागरिकता स्वतः रद्द
अन्नपूर्ण पोस्ट दैनिकबाट








