भाद्र ७, काठमाडौं । मध्य वर्षामा पनि पानीको अभाव भएपछि आठराई गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । उनीहरू पानी नभएपछि अन्यत्र बसाइँ सर्न थालेका छन् ।तमोर नदीसँग सीमा जोडिएको आठराई क्षेत्रको होडा गाउँका बासिन्दा गाउँमा रहेका पानीका मुहान सुकेपछि पानी खोज्दै गाउँ छोडेर तराईतर्फ बसाइँ झरिरहेको स्थानीय अगुवा टीकारम बस्नेतले बताए ।
कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आधार शिविरतर्फ जाने पर्यटक पदमार्गमा रहेको पाँचपोखरीमा पनि पानी अभाव भएपछि पानी खोज्दै अन्यत्रै सर्दै छन् ।
तेह्रथुम, ताप्लेजुुङ र पाँचथरका दुई दर्जन गाविसको प्रमुख व्यापारिक केन्द्र संक्रान्ती बजारमा पनि पिउने पानीको समस्या वर्षौंदेखि समाधान हुन सकेको छैन । ‘पानी नै खान नपाएर गाउँलेहरू हिँडे,’ स्थानीय टीकाराम तामाङले भने ।
हिउँद याममा सुकेका गाउँका खोल्साखोल्सीमा रहेका पानीका मुहानमध्ये वर्षादमा पनि पलाउन सकेका छैनन् । अघिल्ला वर्षहरूमा यति लामो समय मुहानमा पानी अभाव हुँदैनथ्यो । गत वर्षदेखि अधिकांश पानीका मुहान सुकेका छन् ।
०७२ सालमा गएको भूकम्पले पानीको मुहान रहेका क्षेत्रमा जमिन हल्लिँदा पानी भित्रभित्रै छिरेर हराएको स्थानीय बासिन्दाको भनाइ छ ।
गाउँमा पिउने पानी नै नभएपछि गाउँका हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की, पुण्य न्यौपानेलगायतको परिवार गाउँ छोडेर पूर्वी तराईतर्फ बसाइँ गएको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताए ।
अरू दुई दर्जन परिवार पनि गाउँ छोडेर बसाइँ जाने तयारीमा छन् । ‘बितेको पाँच वर्षमा गाउँ नै खाली हुन आँट्यो,’ उनले भने । पाँच वर्षअघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले यो संख्या घटेर आधाभन्दा तल झरेको प्रअ बस्नेतले बताए ।
संक्रान्ती बजार र आसपासका बस्तीमा पिउने पानी विस्तारका लागि सरकारले विनियोजन गरेको ४ करोड ५० लाखसमेत पानीको मुहान नभेटिएपछि सात वर्षअघि फ्रिज भएको थियो ।
‘स्थायी पानीको स्रोत नै नभेटिएपछि यति धेरै रकम फ्रिज भयो,’ उद्योग वाणिज्य संघ संक्रान्ती उपशाखाका पूर्वअध्यक्ष भोला काफ्लेले भने । योजना सञ्चालनका लागि आएको रकम फ्रिज भएपछि संक्रान्ती बजारवासीले अहिले पनि पिउने पानीको अभाव झेल्दै आएका छन् । समाचार कान्तिपुरमा छ ।








