
असोज २ गते इनरुवा/यस पटकको दशैंमा इनरुवाबासीकालागि मङगोलियन हर्टले सांस्कृतिक माहोल तताउने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा मङगोलियन हर्टको प्रस्तुती रहने छ । इनरुवामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका संयोजक राकेश निरौलाले असोज ३० गते सप्तमीका दिन आयोजना हुने मेघा रिदम इभ लाइभ कन्सर्टमा मङगोलियन हर्ट सहित स्थानीय कलाकारको प्रस्तुती रहने बताएका हुन् ।

सातौं कन्सर्ट आयोजना गर्न लागेको इनरुवा इभेन्ट म्यानेजमेन्टले आर्थिक कठिनाईका बाबजुत नगरको पहिचान सहित नगरवासीकालागि सांगितिक माहौल सीर्जना गराउन प्रस्तुती गर्न लागेको जनाएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले यसअघिका वर्षहरुमा समेत राष्ट्रिय स्तरका ब्याण्ड र कलाकारलाई बोलाएर सांगीतिक कार्यक्रम आयोजना गरिसकेको छ । इनरुवा ३ महेन्द्रचौकमा आयोजना गर्न लागिएको कन्सर्टमा यस पटक भने दर्शककालागि टिकटको व्यवस्था गरेको संयोजक निरौलाले बताए । अत्याधुनिक साउण्ड सिस्टम सहितको व्यवस्था मिलाइएको समेत आयोजकले जनाएको छ ।








