धनगढी, ५ असोज । राजपाका नेता राजेन्द्र महतोले सरकारमा जाने सम्भावना अन्त्य भएको बताएका छन् । टीकापुर घटनामा संलग्नताको आरोपमा मुद्दा चलाइएकालाई मुक्त नगरिएको सरकारमा जाने सम्भावना अन्त्य भएको उनको भनाइ छ ।‘टीकापुर घटना राजनीतिक हो,’ उनले भने, ‘माओवादी द्वन्द्वमा १७ हजार मर्दा केही नहुने तर टीकापुर घटनालाई राजनीतिक नमान्ने?’ सरकारमा जानेभन्दा पनि अब सडकमा उत्रने उनले बताए।
संविधान दिवसको विरोध गर्न धनगढी आएका महतो सहित अनिल झाले रेशम चौधरी लगायत सबै आरोपितलाई तत्काल रिहा गर्नुपर्ने बताए।सरकारले रेशम चौधरीलाई तत्काल संसदमा शपथ गर्ने व्यवस्था तथा रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिए।महतो, अनिल झा र प्रदेशसभा सदस्य मालमती रानाले कैलाली जिल्ला कारागारमा रहेका लक्ष्मण थारु लगायतले बुधबार टीकापुर घटनाका आरोपितहरुलाई कारागारभित्रै गएर ४५ मिनेट भेटघाट गरेका थिए। कान्तिपुर दैनिकबाट









