विकास राेकामगर, काठमाडौं,१३ असोज । ‘आफ्नै हातले खुवाएँ, आफ्नै काखमा राखेर हुर्काएँ, आज यही दिन देख्नलाई हो ?’ श्रीया विककी सानिमा गंगा विक जिल्ला प्रहरी कार्यालय कास्की भित्र चिच्याउँदै थिइन् ।

उनको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोशभन्दा पनि ठूलो विद्रोह थियो । उनी घाँटी सुकुन्जेल चिच्याउँदै थिइन् ।

‘त्यो सबैकी छोरी थिई । जन्ममात्रै मेरी दिदीले दिएकी हुन् । माइती घरमा बसेर त्यसलाई हुर्काउने, पालनपोषण गर्ने यही हातले गरेकी हुँ,’ आँखाभरि आँसु ल्याएर बर्बराइरहेकी थिइन्, गंगा । आफूले पालेको छोरीको हत्यारालाई प्रहरीले सुरक्षा दिइरहेको उनको आरोप थियो ।

नयाँ शासन आएपछि बलात्कार, हत्या घट्नुको साटो झनै दोब्बरतेब्बर बढिरहेको गंगाले बताइन् । ‘नारी र महिलामात्रै होइनन्, अब त बालिकाहरु पनि सुरक्षित भएनन्,’ उनले भनिन्, ‘जबसम्म यो देशमा बलात्कारीलाई फाँसीको कानुन आउँदैन । यस्तो घटना दोहोरिरहन्छ ।’

आफ्नो छोरीलाई जसरी तड्पाएरर मारेको हो त्यसरी नै फाँसीमा तड्पाएर मार्नुपर्ने गंगाले माग गरिन् । ‘मर्ने हारेर मरिहाल्यो, बाँच्नेले जित्यो । अपराधी बाँचेर झनै दाउ खुल्यो । भोलि फेरि यो घट्ना नदोहोरिएला भन्न सकिन्न,’ उनी प्रश्न गर्छिन्, ‘कानुनले दुईचार पैसा जरिवाना गर्ला केही समय जेलमा थुन्ला । के यसरी हाम्री छोरी फिर्ता आउँछे त ?’

करिब २ वर्षपहिले बाबुले अर्की आमा समाएर हिँडेपछि मामाघर फर्किएकी थिइन्, श्रीया । उनलाई मामा कृष्ण सुनार र सानीआमा गंगा विकले स्याहारसुसार गर्दै आएका थिए । श्रीयाको आमाको ज्यान ठीक छैन सधैं बिरामी भइरहन्छिन्, यसपालि पनि छोरी श्रीयाको मृत्युको खबरले थला परेकी उनी अझै राम्रोसँग होशमा आउन सकेकी छैनन् ।

‘दुईचार पैसा पीडित पक्षलाई दिन्छ । घटना गुपचुप हुन्छ,’ उनी भन्दै थिइन्, ‘यो सबै नेपालको कानुन एकदमै कमजोर भएर हो । अन्य मुलुकको जस्तो बलियो कानुन हुने भए अपराधी आफै तर्सन्थे ।’ जनप्रतिनिधिलाई घटनाको कुरा राख्दा पनि ‘प्रुफ’ चाहिन्छ भन्दै बेवास्ता गरेको उनको आरोप थियो ।

पोस्टमार्टम रिपोर्ट लगेर देखाउँदा पनि जनप्रतिनिधिले बेवास्ता गरेको विक बताउँछिन् । भन्छिन्, ‘हिजो (मंगलबार) पोस्टमार्टम रिपोर्ट आउँदा हामीसँगै गएका हौं, छोरीको छियाछिया शरीर थियो । त्योभन्दा अर्को ठूलो प्रमाण के हुन सक्छ ?’ पोस्टमार्टम रिपोर्ट अनुसार श्रीयाको अनुहार, टाउको र योनांगमा चोट लागेको थियो ।

सोमबार साँझ घरबाट बिस्कुट किन्न निस्किएकी श्रेया मंगलबार बिहान घरनजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी थिइन् । उनलाई उनकै छिमेकी पोखरा–२२ बस्ने २९ वर्षे कुसुम पौडेलले बलात्कारपछि हत्या गरेको खुलेको थियो । पौडेललाई बुधबार नै जिल्ला प्रहरी कास्कीले सार्वजनिक गरिसकेको छ । समाधान दैनिकबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia