काठमाडाैँ । अध्यक्षद्वयको अनुपस्थितिमा बरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कटु आलोचनासहित पार्टी नेतृत्वलाई सच्चिन चेतावनी दिएपछि नेकपा ‘तरंगित’ भएको छ ।
महासचिवका रुपमा तत्कालीन नेकपा एमालेको निरन्तर १४ वर्ष नेतृत्व गरेका नेपाल नेकपामा परिभाषित भूमिकाको खोजीमा छन् । बरिष्ठ नेता भनिए पनि पार्टी र सरकारको काम–कारबाहीमा भूमिकाविहीन बनाइएपछि उनी तत्कालिन माओवादी पक्षका नेताको साथमा पार्टी नेतृत्व ‘कज्याउने’ मनस्थितिमा देखिन्छन् ।

दुई बर्ष अघि नै देश डुब्न लाग्यो भनेर ‘माझी’ खोजेका थिए नेता नेपालले । सायद दुई बर्षबीचमा नभेटिएर होला नेपालले बिहीवार फेरि माझी सम्झिए संसदमै । नेकपारुपी बोइङका दुवै ‘पाइलट’ देश बाहिर रहेका बेला नेता नेपालले ‘माझी’ मात्रै सम्झिएनन्, शुक्रवार ‘चियापान’को बहानामा स्थायी कमिटीका सदस्यलाई बोलाएर पार्टी नेतृत्व र सरकारविरुद्ध मोर्चाबन्दी बढाउने स्पष्टै सन्देश पनि दिए ।

आफू विदेशमा रहँदा ‘चियाको कपमा तुफान’ ल्याउने नेपालको आन्तरिक प्रयासले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीलाई नछुने प्रश्नै थिएन् । उनले अमेरिकाबाटै ‘म नहुँनेबित्तिकै कसैलाई अलिकता शुन्यता, छटपटी भयो होला, देश डुब्दैन म छु’ भन्ने प्रतिउत्तर दिए ।

यता, नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत नै ‘पार्टीको सामान्य बिषयमा भएको छलफललाई अतिरञ्जित ढंगले प्रचार गर्नुको कुनै अर्थ छैन’ भनेका छन् । श्रेष्ठले भने झैं टिप्पणी, प्रतिटिप्पणी र कटाक्षको हदमा उत्रिएको नेकपाको विवाद ‘सामान्य’ नै हो त ? संस्थापन पक्ष नेता नेपालले ‘अलि बढि नै गरेको’ निश्कर्षमा पुग्दा नेपाल पक्षीय नेता पार्टी र सरकारलाई ‘थप प्रभावकारी बनाउन ठीकै हो’ भन्ने मान्यतामा देखिन्छन् ।

वरिष्ठ नेता नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर संसद् र स्थायी कमिटीका सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा गरेको छ । पार्टी एकीकरणपछि परिभाषित भूमिकाको खोजीमा रहेका नेता नेपालले दबाब बढाएर आफू पक्षीय नेता/कार्यकर्तालाई सम्मानजनक स्थान दिने गरी ‘सौदाबाजी’ बढाउन खोजेको संस्थापन पक्षको बुझाई छ । न्यूज२४ नेपालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia