काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ विधानमा राख्ने प्रावधानबारे केही मूल विषयमा सहमति नजुट्दा विकल्पसहितको मस्यौदालाई विधान समितिले पार्टीको केन्द्रीय समितिमा बुझाउने तयारी गरेको छ ।
हाल विधान समितिले मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको विधान तयार पारिरहेको छ । विधानमा केन्द्रमा रहने पदाधिकारी संख्या, पदाधिकारीको निर्वाचन प्रक्रिया, विभिन्न विभागको गठन, सभापतिको अधिकारसहित सदस्यता वितरण र विशेष अवस्थाको व्याख्याबारे सहमति जुट्न सकेको छैन ।

सो बारे जानकारी लिन कांग्रेसले ९ मंसिरका लागि केन्द्रीय समिति बैठकसमेत डाकेको छ । सो बैठकमा विधान समितिले विधानको मस्यौदासमेत बुझाउनेछ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले विधानमा राख्ने प्रावधानका केही विषयमा समान धारणा नभएकाले केन्द्रीय समितिमा सो बारे छलफल हुने जनाए ।

‘विधानमा राख्ने प्रावधानका विषयमा अन्तिम सहमति हुन बाँकी छ, विभिन्न विकल्पसहितका प्रावधानहरू आएका छन््, अब केन्द्रीय समितिमा विकल्पसहितको मस्यौदा आउँछ र त्यहीँ छलफल हुन्छ,’ उपसभापति निधिले राजधानीसँग भने ।
विधान समितिका प्रवक्ता रमेश लेखकले विधानमा समावेश गर्ने केही विषयमा अघिल्ला बैठकहरूमा केही फरक कुरा आएको जनाए ।
‘विधानमा खासगरी सदस्यता वितरण र पदाधिकारीका विषयमा केही फरक धारणा आएका छन्, अबको बैठकबाट हामी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौं,’ प्रवक्ता लेखकले भने ।
विधान समितिको बैठक तिहारयता बस्न सकेको छैन । सभापति शेरबहादुर देउवा निकट नेताहरू विधानमा सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने र केही पदाधिकारी निर्वाचनमार्फत र केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्नुपर्ने पक्षमा छन्् ।

यस्तै नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचन प्रक्रियामार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छन्् ।

विधान समितिका सदस्य प्रदीप पौडेलले पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समिति तथा विशेष अवस्थाको व्याख्याका विषयमा कुरा नमिलेको जनाए ।
‘पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समितिसहित विशेष अवस्थाको व्याख्याबारे कुरा मिल्न बाँकी छ,’ नेता पौडेलले भने । उनले बिहीबार बिहान ११ बजेका लागि समितिको बैठक बोलाइएको समेत जानकारी दिए ।

केन्द्रीय समितिको आकारका विषयमा भने लगभग सहमति जुटिसकेको छ । जसअनुसार कांग्रेस केन्द्रीय समिति १२५ सदस्यीय हुने लगभग टुंगिएको छ ।

कांग्रेसभित्रको संस्थापन पक्ष संसदीय समितिसमेत मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छ भने संस्थापनइतर पक्ष संसदीय समिति निर्वाचनको टिकट बाँड्ने समिति भएकाले महŒवपूर्ण हुने भन्दै निर्वाचन प्रक्रियामार्फत नै चयन गर्ने गरी विधानमा व्यवस्था गरिनुपर्ने पक्षमा छ ।
नयाँ विधानमा वरिष्ठ नेतासहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव आएको छ भने केहीले पदाधिकारी संख्या बढाउन नहुने धारणा राखिरहेका छन् । तर निर्वाचित र मनोनीत पदबारे भने तय भएको छैन ।

यसैगरी, पार्टीको केन्द्रीय समिति पनि १२१ देखि १३१ सम्म रहने गरी प्रस्ताव गरिएको थियो । हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ ।

यस्तै केन्द्रीय समितिमा सबै निर्वाचित गर्ने वा १५ प्रतिशत मनोनीत गर्ने भन्ने विकल्पसमेत आएको छ । संसदीय समितिमा बढी जसो निर्वाचित र केही मनोनीतको प्रस्ताव आएको छ । यसैगरी, अनुशासन समितिमा संयोजकसहित केही सदस्य निर्वाचित गर्ने वा मनोनीत गर्ने भन्ने प्रस्ताव छ । यस्तै सदस्यता वितरण पुरानै राख्ने कि फरक व्यवस्था अपनाउने भन्नेमा समेत फरक धारणा आएका छन् ।

पार्टीको संरचनासमेत मतदान केन्द्र कमिटीदेखि केन्द्रीय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ । सबैभन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको छ ।

शीर्ष नेतालाई जिल्ला नजान निर्देशन
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् ।
उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रूप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् ।
बुधबारको अनौपचारिक बैठकमा नेताहरूबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।

त्यसपछि २० देखि २१ मंसिरसम्म विधानसहितका सबै विषयलाई टुंग्याएर विभिन्न दस्तावेजहरू प्रकाशन गरिने र २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकमा सबै विषयलाई लैजाने सहमति भएको हो ।
महासमितिमा विधानबाहेक राजनीतिक दस्तावेज, आर्थिक दस्तावेज, महामन्त्रीको सांगठनिक दस्तावेज र कोषाध्यक्षको अर्थनीतिसम्बन्धी दस्तावेज प्रस्तुत गरिनेछ ।
बुधबारको अनौपचारिक बैठकमा सभापति देउवासहित, वरिष्ठ नेता रामचन्द्र पौडेल, विधान समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्कासहितका अन्य केही शीर्ष नेता सहभागी भएको जनाइएको छ । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia