काठमाडौं । सुन्दा अपत्यारीलो तर, सत्य । करिब करोड रुपैयाँ कमाउने उद्देश्य सर्प बोकेर हिंडेका दुई जना नेपाली नागरिक डिभिजन वन कार्यालयले नेपालगञ्जमा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले केही दिन अगाडि दुईमुखे सर्पसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालयमा बुझाएको हो ।
नेपालगञ्जको सेतु बिक चोकनजिकै आरुषी नास्ता पसलका सञ्चालक बर्दिया बढैयाताल गाउँपालिका–१ ठूलो डाँफेका ३८ वर्षीय लोकबहादुर सुनार र नेपालगञ्ज उपमहानगर–१६ का २५ वर्षीय मुराद साईबीच पैसाको कुरा नमिल्दा घटनाबाहिर सार्वजनिक भएको हो ।
भारतबाट सर्प नेपालगञ्ज ल्याइदिएबापत २० लाख भारतीय रुपैयाँ दिने सर्तमा साईले भारतबाट सो सर्प सुनारका लागि गत १९ मंसिरमा नेपालगञ्ज ल्याइदिएका थिए । अभियुक्त सुनारले कबुल गरेको रकम साइलाई नदिएपछि विबाद हुँदा घटना सार्वजनिक भएको थियो ।
अभियुक्त सुनारले भारतको उत्तर प्रदेशको सिसैयाबाट हेर्दा रातो देखिने दुईमुखे सर्प एकलाख भारतीय रुपैयाँ दिने शर्तमा नेपालगञ्ज ल्याई काठमाडौको पार्टीलाई ५० लाख भारतीय रुपैयामा बिक्री गर्ने योजना बनाई जयसपुरका साईलाई साथमा लिएर सर्प ल्याएर आएको बताए । दुईमुखे सर्प घरमा राख्दा धनसम्पत्ति प्राप्त हुने तथा विभिन्न रोग व्याधा पनि नलाग्ने विश्वास रहेकाले सो खालको सर्प अवैध तरिकाबाट खरिद बिक्री हुने गरेको बताइएको छ ।
भारतदेखि नेपालगञ्जसम्म सो सर्प ल्याइदिएवापत साइलाई २० लाख भारतीय रुपैया दिने सहमति भए अनुसार अभियुक्त साइले भारतबाट नेपालगञ्ज ल्याएको तर, तोकिएका ठाउँमा पु¥याउन नपाउँदै सर्प मरेकोले असहज स्थिति भएको सुनारले बताए ।उनले भने, ‘भारतको सिसैयाबाट सर्प लिनको लागि साईको साथमा गत १९ मंसिरमा रुपैडिहबाट गाडी रिजर्भ गरी सोही राती एक्लै नेपालगन्ज आएका हुन् ।’
उनले भने, ‘सर्प लिनको लागि काठमार्डौबाट पार्टी आइसकेको थियो । पार्टीलाई चाहिएको सर्प साढे चार किलोको रहेछ तर हामीसंँग भएको सर्प डेढ किलोको मात्रै थियो, अभियुक्त सुनारले भने । सर्प मरेको अवस्थाको भएकाले मैलै पार्टीले मरेको सर्प लिएन लैजाऊ भनेर साईलाई भनेको हुँ तर साई नआएपछि धारा नजिकै गाडेको हुँ, उनले भने । काठमाडौबाट सर्प किन्न आएको पार्टीको बारेमा कुनै पनि जानकारी नभएको र उनीहरुलाई आफ्नो पसलमा खाजा खान आउने क्रममा चिनेको बताए ।
अभियुक्त साईले सर्प ल्याउनको लागि भारतको ग्राम प्रधान प्रेमनगरका अगैया नानपाराका रामदयाल बर्माको रोहबरमा भारतीय नागरिक रामु साकालाई ४ लाख भारतीय रुपैयाँ दिने कागजात गरी आफू आएकोले जे जसो भए पनि आफूले भारतबाट सर्प नेपालगन्ज ल्याइदिएकोले आफूले पाउनु पर्ने २० लाख भारतीय रुपैयाको माग गर्दै सुनारको पसलमा आएपछि विबाद हुँदा प्रहरीले नियन्त्रणमा लिएको साइले बताए ।सर्पको पैसा नदिएको भन्दै भारतमा रामु साकाले ८ दिनसम्म बन्धक बनाई कुटपिट गरेको साईले बताए ।
वडा प्रहरी कार्यालय नेपालगन्जले अभियुक्त सुनार र साई तथा मरेको सर्प नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान पूरा गरी डिभिजन वन
कार्यालय बाँकेमा पठाएको प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अभियुक्तहरुमाथि आवश्यक कारवाही हुने उनले बताए ।
नेपालगन्ज फुलटेक्राका बद्रे आलम खाँले दुईमुखे सर्प ‘घरमा शुभ होस्’ भन्नाको लागि राख्ने गरेको सुनेको बताए । यसको तौल ४ किलोभन्दा बढी भयो भने बहुमूल्य हुने र नेपालगन्जमा नै करोडौमा किनबेच हुने र भारतबाट लुकाइछिपाइ नेपालगन्ज ल्याई अवैध व्यापार गर्नेहरु पाकाहरुले भनेको सुनेको उनले बताए। यसैबीच डिभिजन वन कार्यालय बाँकेका रेन्जर रमेश बुढाथोकीले अभियुक्त साई र सुनारमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले उनीहरुसँग बरामद भएको सर्प नेपालमा सूचीकृत र संरक्षित नभए पनि भारतमा भने प्रतिबन्धित रहेको बताए । उनले सर्प घरमा राख्दा लाभ हुने तथा रोग व्याधी नलाग्ने विश्वासका कारण यसको तस्करी हुने गरेको दावी गरे । सुनार र साईलाई संरक्षित वन्यजन्तुहरु ओसारपसार गर्न नपाईने कानुन रहेकोले उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक कारवाही अगाडि बढाइने जानकारी उनले दिए । समाचार राजधानी दैनिकमा छ ।









