हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बनेका छन् । आइतबार राति भएको फाइनलमा अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै सलमान अलीले इन्डियन आइडल १० को ट्रफी उचालेका हुन् । आइतबार भएको फिनालीमा भएको लाइभ भोटिङ्ग तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् । हिमाञ्चल प्रदेशका अंकुश भारद्वाज दोस्रो भए । उपाधि जितेको सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् ।

यस्तै दोस्रो भएका अंकुशले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाए । बहुचर्चित बनेको इन्डियन आइडलको यो सिजनको सेकेण्ड रनरअप अर्थात तेस्रो स्थानमा १६ वर्षकी निलान्जन रे रहिन् । यस्तै नितिन कुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा रहे । निलान्जनाले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाइन् भने नितिन र विभोरले तीन-तीन लाख भारतीय रुपैयाँका साथ उपहारहरु पाए ।

फिनालीमा कुल दुई करोड ५५ लाख भन्दा बढी भोट प्राप्त भएको जानकारी दिइएको थियो । फिनालीमा चलचित्र ‘जिरो’ को टिम पुगेको थियो । शाहरुख खान, कटरिना केफ तथा अनुष्का शर्माले फाइनलिस्टलाई शुभकामना दिएका थिए । विशाल ददलानी, नेहा कक्कड तथा जावेद अली निर्णायक रहेको शो सन् २०१८ को जुलाई ७ देखि सुरु भएको थियो । सोनी टेलिभिजनको शो दर्शकको मायाका कारण लामो समय चलेको हो ।

फिनालीमा वरिष्ठ गायकहरु सुरेश वाड्कर, बप्पी लहेरी तथा अलका याग्निकसहित उपस्थित थिए । यस्तै शिल्पा सेट्टी र कोरियोग्राफर गीता कपुरले आफूहरुको आउँदै गरेको शो सुपर डान्सर च्याप्टर थ्रीको प्रमोशन पनि गरे । इन्डियन आइडलको यो सिजन उत्कृष्ट प्रतिस्पर्धीका कारण निकै चर्चित रह्यो । यस्तै शोका नियमित निर्णायक अनु मलिकले बिचमै शो छोडेको विषय पनि चर्चामा रह्यो । मलिकमाथि मी टू अभियान अन्तर्गत यौन हिंसाको आरोप लागेको थियो र उनले शो छोडेका थिए । मलिकको ठाउँमा जावेद अली आए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia