काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समूहले २०४१/०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।
यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरूले प्रतिक्रिया दिए । तर उनी एक वर्षदेखि प्रदेश प्रमुखका रूपमा कार्य गरिरहेका छन् । संविधानको धारा १६४ मा प्रदेश प्रमुखको योग्यता स्पष्ट रूपमा उल्लेख भएको र सो व्यवस्थाअनुसार कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने संविधानविद् भीमार्जुन आचार्यले बताए ।
‘प्रदेश प्रमुखका लागि संघीय संसद् हुन आवश्यक सबै योग्यता पूरा भएको र कुनै कानुनले पनि अयोग्य नभएको व्यक्ति हुनुपर्छ,’ उनले भने, ‘यसका आधारमा बैंकको ऋण नतिरेर कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुख हुन कानुनत: अयोग्य ठहरिन्छ ।’ यसकारण त्यस्ता व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु संविधानविपरीत भएको आचार्यले बताए ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघमा मल्लसहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । मल्ल समूहले यो ऋणमा कैलालीको तत्कालीन भजनगाता, मनुवालगायत गाविसका ५२ परिवारहरूको घरजग्गा धितो राखेको छ । तेस्रो पक्ष धितोका नाममा गरिब किसानहरूलाई लोभलालचमा पारेर धितो राखेको जनाउँदै ३८ जना पीडितले बैंकमा निवेदन दिएका छन् । मल्ल समूहले ऋण भुक्तानी नगरेपछि करिब तीन दशक स्थानीयहरूले आफ्नो घरजग्गा अंशबन्डा तथा कित्ताकाट गर्न नपाएकाले निवेदन गरेका हुन् ।
कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुखमा चयन गरेरदेउवा सरकारले संविधानविपरीत काम गरेको अर्का एक कानुनविद्ले बताए । मल्ल तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य थिए । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य रहेका मल्ल केही वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । देउवा सरकारले उनलाई कांग्रेसको कोटाबाट प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
यो विषयमा प्रदेश प्रमुख मल्लसँग जिज्ञासा राख्न खोज्दा उनले आफू साथीहरूसँग भएकाले केही बोल्न नसक्ने बताए । ‘म साथीहरूसँग छु, मिटिङ सकिएपछि फोन गर्छु,’ उनले भने ।उनका भाइ मदनबहादुर मल्लले ऋण भुक्तानीका लागि बैंकसँग छलफल भइरहेको बताए । ‘बैंक र हामीबीच पटक–पटक छलफल भइरहेको छ,’ उनले भने, ‘बैंकको सञ्चालक समिति चयनमा ढिलाइ भएकाले प्रक्रिया टुंगिन नसकेको हो ।’
मल्ल समूहले भजनी राइस मिल, मनुवा राइस मिल, दुश्यन्त राइस मिल र मालिका ट्रेड सेन्टरको नाममा ऋण लिएको हो । माओवादी द्वन्द्वका कारण उद्योगहरू बन्द गर्नुपरेकाले ऋण तिर्न नसकिएको उनले बताए । ‘अब धेरै दिन ऋण राख्ने पक्षमा छैनौं,’ उनले भने, ‘करिब ५ देखि साढे ५ करोड रुपैयाँमा कुरो मिलाउने बैंकसँग छलफल भइरहेको छ ।’ उनको प्रतिक्रिया तथ्यसँग मेल खाँदैन । द्वन्द्वलाई उनले कारण देखाए पनि २०५२ देखि मात्र माओवादी द्वन्द्व सुरु भएको हो । जबकि मल्ल समूह द्वन्द्व सुरु हुनुभन्दा पाँच वर्षअघि (२०४७ साल) देखि नै कालोसूचीमा परेको अभिलेखले देखाउँछ ।
यो समूहले त्यतिबेला करिब १७ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो । उनीहरूले ३० वर्षदेखि साँवाब्याज केही पनि तिरेका छैनन् । बैंकको नियमअनुसार ब्याज पनि साँवामा पुँजीकरण गर्दा यो समूहले तिर्नुपर्ने रकम करिब ३५ देखि ४० करोड रुपैयाँ पुग्ने बैंक स्रोतले बताएको छ । बैंक ऋण असुलीको पक्षमा रहेकाले ५/७ करोड रुपैयाँ भुक्तानी गरे बाँकी रकम छुट दिने पक्षमा छ ।
लामो समयसम्म पनि मल्ल समूहले ऋण भुक्तानी नगरेपछि स्थानीयहरू आफैंले ऋण तिरेर भए पनि जग्गा फुकुवा गराउन स्थानीयवासीले बैंकलाई आग्रह गरेका छन् । यसका लागि २०७५ मंसिर २८ मा ३८ जना पीडित घरपरिवारले बैंकमा आवेदन दिएर जग्गा फुकुवा गर्न निर्देशन दिएको बैंक स्रोतले जनाएको छ । ‘दृष्टि बन्धक रहे बराबरको रकम आफूले तिर्ने सर्तसहित जग्गा फुकुवाका लागि निवेदन आएको छ,’ स्रोतले भन्यो, ‘प्राप्त आवेदनउपर बोर्डको निर्देशनअनुसार कारबाही अघि बढाइने छ ।’ कान्तिपुरबाट ।









