- अमर काफ्ले

सुनसरीको रामधुनी नगरपालिका वडा नम्वर एकमा भएको हत्याको घटनामा संलग्न व्यक्ति ४८ घण्टा बित्न नपाउँदै पक्राउ परेका छन् । ८७ वर्षिय नरबहादुर क्षेत्रीको हत्यामा संलग्न भनिएका वर्ष २५ का रमेश राईलाई सुनसरी प्रहरीले घटना भएको ४८ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो । घटना अनुसन्धानको प्रारम्भिक अवस्थामा प्रहरी समक्ष अपराधीका सम्वन्धमा कुनै जानकारी, सुराक र हुलिया थिएन् । घटना मुचुल्का र स्थानीयबाट प्राप्त सुचनाका आधारमा सूक्ष्म अनुसन्धान अघि बढाएको सुनसरी प्रहरी क्षेत्रीको हत्यामा संलग्न अपराधी ४८ घण्टाभित्रै पक्राउ गर्न सफल बन्यो ।पक्राउ परेका राईले प्रहरी समक्ष बयानका क्रममा घटनामा आफ्नो संलग्नता स्विकारेका छन् । इटहरीबाट पक्राउ परेका राईको ठेगाना भने संखुवासभाको मकालु गाउँपालिका रहेको खुलेको छ ।

विभिन्न स्थानमा डेरा लिई बस्दै आएका राई मृतक क्षेत्रीको घरमा समेत दुई महिना अघि डेरामा बसेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । पछिल्लो समय इटहरीमा डेरा लिई बस्दै आएका राईले पुरानो डेराघरमा एक्लै बस्दै आएका वृद्ध क्षेत्रीलाई २८ गते रातीको समयमा हत्या गरेका थिए । हत्यापश्चात गरगहना सहित नगद र जिन्सी सामान लुटिएको थियो ।पक्राउ परेका राईलाई सुनसरी प्रहरीले पत्रकार सम्मेलनकाबीच आज सार्वजनिक गरेको छ ।

सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल र १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले अपराध भएको छोटो समयमै अपराधी पक्राउ गरी दिलाएको सफलता सुनसरी प्रहरीकालागि गौरवको विषय भएको बताए ।
रामधुनी नगरपालिका १ शिव चौकमा रहेको दुई तले पक्की घरमा क्षेत्री एक्लै बस्दै आएका थिए । रातीको समयमा क्षेत्री सुत्ने कोठामा पुगेका राईले ८७ वर्षिय वृद्धले जनैमा बाँधेर राखेको दराजको चाबी फुत्काएर गरगहना सहितका सामान लुटेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार चाबी फुत्काउनु पूर्व राईले वृद्धको कन्टचमा फलामको पिलासले हिर्काएका थिए । जसको कारण नरबहादुरको मृत्यु भएको थियो । राई उपर सुनसरी प्रहरीले ज्यान सम्वन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia