इनरुवा । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराधिक गतिविधि रोक्न संयुक्त गस्ती गर्ने सहमति भएको छ । भारतको बीरपुरमा बसेको दुई देशको सुरक्षा समन्वय समितिको बैठकले सो सहमति गरेको हो । भारतमा अप्रिल-मे महिनामा हुने लोकसभा चुनावलाई लक्षित गरेर दुवै देशका सुरक्षा प्रमुखहरुले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएर चौबीसै घण्टा उच्च सर्तकता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको बैठकमा सहभागी सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताएका छन् ।

आइतबार भारतको बीरपुर स्थित बसेको दुई देशको सुरक्षा प्रमुखहरुको बैठकले विशेषगरी भारतमा हुन लागेको सम्भावित चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमति गरेको एसपी अधिकारीले बताए । सीमा क्षेत्रमा मानव तस्करी, अवैध हातहतियारको कारोवार, लागुऔषधि ओसारपसार, अवैध मदिरा ओसारपसार, चोरी तस्करी र अपहरण जस्ता जघन्य अपराधिक कृयाकलापका घटना हुन नदिन सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने सहमति भएको हो । सुनसरीका विभिन्न नाका हुँदै अपराधिक कृयाकलाप हुन नदिन सुनसरी प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा अपराधिक घटना नियन्त्रण गरिने अधिकारले बताए । भारतीय सुरक्षा अधिकारीहरुले नेपालको सीमा प्रयोग गरेर अन्तर्राष्ट्रिय आतंकवादी भारततर्फ प्रवेश गर्न सक्ने र विहार राज्यमा प्रतिबन्धित मादक पदार्थको अवैध ओसारपसार बढेको भन्दै नेपाल तर्फ त्यस्ता गतिविधि महत्वका साथ नियन्त्रण गर्न सहयोग माग गरेका हुन ।
सुनसरीका सुरक्षा प्रमुखहरुले भारतबाट अवैध हातहतियारको ओसारपसार, लागूपर्दाथको ओसारपसार पशु चौपाया चोरी तस्करीका घटना बढेको भन्दै यस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्न भारतीय सुरक्षा अधिकारी समक्ष माग गरेका छन् । सीमा क्षेत्रबाट मानव तस्करीका घट्नासमेत हुनसक्ने भन्दै यस्ता घटनालाई नियन्ण गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दुवै देशका सुरक्षा अधिकारी सहमत भएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए ।
दशगजा क्षेत्रको सुरक्षा र सीमा क्षेत्रका अपराधिक घटना नियन्त्रण गर्न संयुक्त गस्ती गर्ने सहमति भएको अधिकारीले बताएका छन् ।
बैठकमा नेपालको तर्फबाट सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी प्रमुख सुरेश कुमार श्रेष्ठ, मोरङ र सप्तरी जिल्लाका प्रजिअ,एसपी तथा भारतीय तर्फबाट अररिया जिल्लाका डिएम वैद्यनाथ यादव,सुपौलका डिएम महेन्द्र कुमार, सहितका सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो ।









