काठमाडौं । ललितपुरमा भएको सामूहिक बलात्कार मुद्दामा डीएनए नमिलेकै आधारमा बलात्कार होइन भन्न नमिल्ने फैसला अदालतले गरेको छ । ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २ मंसिर २०७४ मा भएको सामूहिक बलात्कार घटनाको मुद्दामा डीएनए नमिलेकै कारण पीडकलाई छुट दिन नमिल्ने फैसला जिल्ला अदालत ललितपुरले गरेको छ ।
जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरीको घटनामा समेत दोषी ठहर र ‘जबर्जस्ती करणी’ भनिने बलात्कारको घटनामा पाँच वर्षका दरले कैद फैसला भएकामा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय थपी १०–१० वर्षको कैद किटान गरेको छ । उनीहरूमाथि १÷१ लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।
युवतीको ३ हजारसमेत चोरी भएकाले त्यसमा पनि उनीहरूलाई दोषी ठहर गरिएको छ । ३ हजार रुपैयाँ दामासाहीका हिसाबले पीडितलाई बुझाउन फैसलामा भनिएको छ ।
प्रत्यक्ष प्र्रमाणलाई आधार नमानी आरोपी छुटेका थिए
सो घटनाका सम्बन्धमा २४ पुसमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । सुरुमा जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडीले पर्याप्त प्रमाण नपुगेको भन्दै २६ पुस २०७४ मा उनीहरूलाई सामान्य तारेखमा छाड्न आदेश दिएका थिए । आदेशलगत्तै आरोपित सामान्य तारेखमा रिहा भएका थिए । त्यसपछि उनीहरू फरार भए । सो आदेश उल्टाउँदै उच्च अदालत पाटनले २५ माघ २०७५ मा आरोपिालाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो । उच्च अदालतको आदेशलगत्तै सो मुद्दा पुनः ललितपुर जिल्ला अदालतमा आइपुगेको थियो । उच्च अदालतको आदेशपछि २६ माघमा पुनः आरोपित पक्राउ परेका थिए ।
कामबाट घर फर्कने क्रममा तीन जनाले ती महिलालाई ढुंगा हानेर बेहोस् बनाएका थिए । तर, सुरुमा अदालतले प्र्रमाण पुगेन भनेर साधारण तारेखमा छाड्ने आदेश दियो । पीडित स्वयंले अभियुक्तको सनाखत गरेपछि पनि बलात्कारका आरोपीलाई छाडेपछि त्यति बेलाका न्यायाधीश बालमुकुन्दलाई न्याय परिषद्ले काज सरुवा ग¥यो । तर, कारबाही भएन । पीडितले घटनास्थलमा आक्रमण हुनासाथ ‘रघु–रघु’ भनी बोलाइएको र रघु सिलवाल आएको भनी किटानी दरखास्त दिएकी थिइन् । त्यसपछि भने टर्च बालेर विशाल र पवन भनेर समेत बोलाइएको भनी विशालध्वज कार्की र पवन कुँवरको नाम किटेकी थिइन् ।
यस्तो थियो घटना
सामूहिक बलात्कार घटनाको भोलिपल्ट पीडित युवतीलाई घर नजिकैको खोला किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो । शरीरको तल्लो भागमा कपडा थिएन । दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो ।
घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगिएको थियो । तर, टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेको देखिएकाले उनलाई तत्काल शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो । उनलाई सात दिनसम्म आईसीयूमा राखिएर उपचार गरिएको थियो । दाहिने हात टुक्राटुक्रा भएर भाँचिएको अवस्थामा भेटिएकी उनको स्टिल–सपोर्टमा हात जोडिएको थियो भने टाउकामा ३० भन्दा बढी टाँका लगाइएको थियो । घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग र महिला अधिकार आयोगले पनि अनुसन्धान गरेको थियो ।
अस्पतालमा रहेकी पीडित युवती होसमा आएपछि र बोल्न सक्ने भएपछि घटनाको आठौं दिन दिएको किटानी नामका आधारमा ललितपुरकै ३२ वर्षीय रघु सिलवाल, २० वर्षीय विशालध्वज कार्की र २० वर्षीय पवन कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो । राजधानीबाट ।









