काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको निर्णयविरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गरेका छन्। संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने आफ्नो प्रस्ताव कंग्रेसले अस्वीकृत गरेपछि ट्रम्पले भिटो लगाएका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलोपटक भिटो प्रयोग गरेका हुन्। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्न मेक्सिको सीमामा पर्खाल निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यद्यपि ट्रम्पले पर्खाल निर्माणका लागि आवश्यक बजेट अमेरिकी संसद्बाट अनुमोदन गराउन सकेका छैनन्।

अमेरिकी राष्ट्रपतिको अर्को चुनाव आउन अब १८ महिना मात्र बाँकी छ तर प्रमुख चुनावी मुद्दामै बजेट प्राप्त नहुँदा राष्ट्रपति ट्रम्पमाथि अर्को कार्यकालका लागि उम्मेदवार हुने वा नहुने भन्ने नैतिक प्रश्न उब्जिएको छ।अमेरिकी संसद्को गत वर्ष सन् २०१८ मा भएको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टी पराजित भएको थियो। अहिले अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्र्याट पार्टीको बहुमत छ। माथिल्लो सदन सिनेटमा भने रिपब्लिकनको झिनो बहुमत छ।

यहीबीच मेक्सिको सीमामा संकटकाल घोषणा गर्ने राष्ट्रपतिको विपक्षमा डेमोक्र्याटका साथै केही रिपब्लिकन सिनेटरले पनि समर्थन जनाएपछि राष्ट्रपति ट्रम्प अप्ठेरोमा परेका थिए। ‘कंग्रेसले यो प्रस्तावको विपक्षमा मतदान गर्न सक्लान्’, ट्रम्पले भने, ‘तर भिटो प्रयोग गर्न पाउने मेरो पनि अधिकार छ।’

भिटो प्रयोगका सन्दर्भमा राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण नभए पनि आफूले अन्तिमसम्म प्रयास गरेको दाबी गर्न सक्नेछन्। भिटोमा हस्ताक्षर गर्ने समारोहमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उनका समर्थकहरू, कानून कार्यान्वयन अधिकारीहरू र सीमाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूबाट मारिएका व्यक्तिका छोराछोरी पनि सहभागी थिए।

राष्ट्रपति ट्रम्पले आपत्कालीन आदेश जारी गरी प्रतिरक्षा खर्चका लागि विनियोजित अर्बौं डलर संघीय बजेटलाई सीमामा पर्खाल निर्माणमा खर्च गर्न चाहेका न्। यद्यपि यो भिटोविरुद्ध पनि विपक्षी डेमोक्र्याटबाट कानूनी चुनौती खडा हुनेछ। विपक्षीहरूले राष्ट्रपतिले प्रयोग गरेको भिटो अवैधानिक रहेको दाबी गरिरहेका छन्।

अमेरिकी अदालतमा उजूरी परेको खण्डमा त्यसलाई अन्तिम किनारा लगाउन महिनौं वा त्योभन्दा बढी समय लाग्नेछ। अदालतमा उजूरी गर्ने अमेरिकी नागरिक स्वतन्त्रता युनियन ९एसीएलयू० ले राष्ट्रपतिले जारी गरेको भिटो अर्थहीन रहेको बताएको छ।

‘कंग्रेसले राष्ट्रपतिको घोषणा अस्वीकृत गरिसकेको छ र अब अदालतले यसको कानूनी वैधताका बारेमा फैसला दिनुपर्ने भएको छ। हामी उहाँलाई अदालतमै भेट्न चाहन्छौं’, कार्यकारी निर्देशक एन्थोनी रोमेरोले भने।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पले जारी गरेको भिटोलाई ‘कानुनी अधिकार बेगर नै शक्ति हत्याउने’ प्रयासको संज्ञा दिँदै भनिन्, ‘हामीले उहाँलाई रोक्न दुबै सदन र दुबै पार्टीले प्रयास गरेका थियौं। तर उहाँले संविधान, कंग्रेस र अमेरिकी जनताको चाहनाविपरीत भिटो प्रयोग गर्नुभयो।’

ट्रम्पले दक्षिण सीमाको अवस्था साँच्चिकै राष्ट्रिय आपत्काल लगाउनुपर्ने किसिमको रहेको दाबी गरेका छन्। उनले भने, ‘हाम्रो आप्रवासन प्रणाली छिन्नभिन्न अवस्थामा पुग्न लागेको छ।’ धेरै सांसदले बिहीबार संसद्मा भएको मतदान राष्ट्रपति वा पर्खालको विपक्षमा नरहेको बताएका छन्। उनीहरूले यो अस्वीकृति भावी राष्ट्रपतिहरूका विरुद्ध सुरक्षाकवच रहेको बताए। कुनै डेमोक्र्याट पार्टीबाट निर्वाचित राष्ट्रपतिले भविष्यमा जलवायु परिवर्तन, बन्दुक नियन्त्रण वा अरू कुनै विषयमा आपत्काल लगाउने प्रयास पनि गर्न सक्लान्।

अमेरिकी राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण शुरु गर्न तत्काल ५ अर्ब ७० करोड डलर बजेट माग गर्दै आएका छन्। यसमा सहमति नहुँदा करिब ३५ दिन अमेरिकी संघीय कार्यालय आंशिक बन्द भएका थिए भने आठ लाखभन्दा बढी कर्मचारीले तलब पाएका थिएनन्।

संघीय सरकारी कार्यालय बन्द गराउन राष्ट्रपति ट्रम्प जिम्मेवार रहेको विपक्षीको भनाइ छ। राष्ट्रपतिले अन्ततः कंग्रेसले पर्खाल निर्माणका लागि पुनः बजेट दिनुपर्ने शर्त राख्दै बन्द खुलाएका थिए। तैपनि पर्खाल निर्माणको बजेटमा अझै सहमति हुन सकेको छैन। रिपब्लिकन पार्टीका नेताहरूले पनि गत महिना राष्ट्रपति ट्रम्पलाई सीमा क्षेत्रमा राष्ट्रिय आपत्काल घोषणा नगर्न सुझाव दिएका थिए। उनीहरूले सैनिक परियोजनामा खर्च नभएको करिब ३ अर्ब ६० करोड डलर पर्खाल निर्माणमा खर्च गर्न आग्रह गरेका थिए।  एपी

तपाईको प्रतिक्रिया

trusted online casino malaysia