काठमाडौं । वेलायतको राजधानी लन्डनस्थित बकिंघम प्यालेसमा सोमबार आयोजित रात्रिभोजको दौरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ढाडमा हात राखेको घटना विश्वभरि विवादको विषय भएको छ।ट्रम्पले शाही हैसियतलाई तोडेका हुन् वा होइनन् भन्ने बारे विवाद भएको हो। ७२ वर्षीय ट्रम्पले ९३ वर्षिया महारानीको दोस्रो विश्वयुद्धकालीन भूमिकाको प्रशंसा गर्दै उनलाई ‘महान महिला’ को संज्ञा दिँदैगर्दा सो घटना घटेको हो।

ट्रम्पले रात्रिभोजमा विशेष सम्बोधन गर्दै भनेका छन्– ‘दोस्रो विश्वयुद्धदेखि आजका दिनसम्म यी अमूल्य परम्पराको दिगो प्रतीकका रूपमा उभिँदै आउनुभएको छ। उहाँभित्र जीवित प्रतिष्ठा, कर्तव्य र राष्ट्रभक्ति प्रत्येक बेलायती नागरिकको मुटुको गौरवशाली ढुकढुकी भएको छ।’प्रत्युत्तर भाषणमा एलिजावेथले पनि अमेरिकाको प्रशंसा गर्दै भनेकी छिन् , ‘आजको राति हामी अमेरिका र बेलायतबीचको गठबन्धनका कारण दशकौंदेखि दुवैका जनताहरुले सुरक्षा र समृद्धि सुनिश्चित गर्न सकेकोमा खुशीयाली मनाउँदछौं र, मलाई विश्वास छ यसले आगामी थुप्रै वर्षहरुसम्म निरन्तरता पाइरहनेछ।’

आफ्नो पिँठ्यु थपथपाएकोमा एलिजावेथले कुनै असजिलो महशुस भएको प्रतिक्रिया जनाएकी थिइनन्। शाही परिवारको वेबसाइटमा भनिएको छ– ‘महारानी वा शाही परिवारका कुनै सदस्यसंगको भेटघाटमा व्यवहारसम्बन्धी कुनै बाध्यकारी नियम कानुन छैनन् तर अधिकांश मानिसले भने परम्परागत कानुन र कायदाको पालना होस् भन्ने चाहन्छन्।

यस्तो भेटघाटमा पुरुषहरुले टाउको झुकाउन र महिलाहरुले अलिकति घुँडा खुम्च्याएर शाही परिवारलाई परम्परागत सम्मान गरून् भन्ने आममानिसको धारणा रहेको छ। केही मानिसले भने साधारण तरिकाले हात मिलाई तिनीहरुलाई भेट्दा शिष्टाचार पुरा गरुन् भन्ने चाहन्छन्। साथै महारानीलाई ‘मौसुफ सरकार’ अथवा ‘म्याडम’ भनी सम्बोधन गरिनुपर्दछ। ’सन् २००९ मा बकिंघम प्यालेसमै आयोजित एक स्वागत कार्यक्रममा अमेरिकी पूर्वप्रथम महिला मिचेल ओबामाले महारानी एलिजावेथलाई गर्लम्म अँगालो हालेकी थिइन्। त्यसको प्रतिक्रियामा महारानीले प्रथम महिलाको कम्मरमा आफ्नो हात राखेकी थिइन्।

५५ वर्षीया ओबामाले आफ्नो पुस्तक ‘बिकमिंग’ मा सो घटनालाई यसरी सस्मरण गरेकी छिन्, ‘त्यतिबेला मैले बकिंघम प्यालेसमा उचित व्यहार नगरेको हुनसक्छ , तर मैले कम्तिमा एकजना सामान्य मानिसले गर्ने काम गरेकी थिएँ। म ढुक्कसंग भन्न सक्छु कि मेरो अँगालोप्रति महारानीलाई कुनै आपत्ति थिएन। बरु उहाँले मलाई नजिक तानेर मेरो कम्मरमा उनले आफ्नो पन्जा लगाएको हात राख्नुभएको थियो।’ बुधबार ट्रम्प प्रथम महिला मेलानिया ट्रम्पसंग आयरलान्डतर्फ जाने तथा बिहीबार फ्रान्स पुग्ने कार्यक्रम रहेको छ।

यसैबीच प्रधानमन्त्री टेरेजा मेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको संयुक्त पत्रकार सम्मेलनको दौरान बेलायत र अमेरिकाबीचको एकताको प्रस्तावको प्रशंसा गरेकी छिन्। ट्रम्पले बेलायतले युरोपेली संघ ९ईयू० छाडेपछि अमेरिकासंगको व्यापार सम्झौताका लागि ठूलो सम्भाव्यता पाएको छ।

ट्रम्प र मेबीच प्रधानमन्त्री निवास नम्बर १० मा चिनियाँ कम्पनी हुवावेको लगायत अन्य विभिन्न एजेन्डामा वार्ता भएको हो। लेबर पार्टीका नेता जेरेमी कोर्विनले वेस्टमिनिस्टरमा ट्रम्पको भ्रमणविरुद्ध आयोजित कार्यक्रममा प्रदर्शनकारीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पलाई शान्तिको बारेमा सोच्न आग्रह गरेका छन्। यसैगरी मंगलबार बिहान सेन्टजेम्स प्यालेसमा नास्ता गर्ने क्रममा ट्रम्पले अमेरिका र बेलायतबीचको थप व्यापार विस्तार हुने कुरामा आफू विश्वस्त भएको बताएका छन्। नेपाल समाचारपत्रबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia