इनरुवा। अनुयायी बलात्कारको आरोप लागेका सुनसरीको चतराका कृष्णबहादुर गिरी थप ३ दिन प्रहरी निगरानीमा बस्ने भएका छन् । बलात्कारको आरोप पश्चात अस्पताल भर्ना भएका कृष्णदास प्रहरीले नियन्त्रणमा रहेपनि अदालतको आदेशमा अस्पतालमै डेरा जमाउदै आएका छन् । अदालतले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै प्रहरी निगरानीमा रहने गरि बिराट नर्सिङ होममै राख्न आदेश दिंदै आएको छ ।

उपचाररत अवस्थामै नियन्त्रणमा लिइएका कृष्णदासलाई प्रहरीले अदालतमा पेश गरेयता २१ दिनको समय अस्पतालको निगरानीमै गुज्रिसकेको छ । अस्पतालको भीआइपी क्याबिनमा डेरा जमाई बस्दै आएका कृष्णदासलाई म्याद थपकालागि प्रहरीले अक्सिजन सहित एम्बुलेन्समा राखेर जिल्ला अदालत सुनसरी पु¥याउदै आएको छ । सुनसरी प्रहरीले ७ दिन अगावै कृष्णदास उपरको अनुसन्धान सकिएको भन्दै सरकारी वकिल कार्यालयमा मुद्दाको मिसिल बुझाईसकेको बताएको थियो । प्रहरी अनुसन्धान अपुरो रहेको भन्दै सरकारी वकिलले यसअघि १० दिनको म्याद थप मागेकोमा अदालतले दिएको ७ दिनको म्याद समेत सकिएको छ । २५ दिन भित्र अदालतमा अभियोग पत्र बुझाइसक्नु पर्ने कानुनी प्रावधान रहेको छ । आज सोमबार अदालत उपस्थित गराइएका कृष्णदासलाई अदालतले पूनः ३ दिनको म्याद थपेको छ । सरकारी वकिल गोकुल निरौलाका अनुसार ४ दिन माग गरिएकोमा अदालतबाट ३ दिन म्याद थपको आदेश भएको छ । पछिल्लो पटक थप गरिएको ३ दिने म्याद समाप्तीसँगै अभियोग पत्र बुझाउनु पर्ने समयसीमा समाप्ती हुनेछ । सार्वजनिक विदा परे भाेलिपल्ट अदालत बुझाइने छ । थप भएको समयसीमा भित्र सम्पूर्ण अनुसन्धान सहितको अभियोग पत्र सरकारी वकिल मार्फत अदालतमा बुझाइएपछि कृष्णदासको बयान लिइने छ । त्यसपश्चात थुनछेक वहस सुरु हुने कानुन व्यवसायीहरुको भनाई छ ।








