दाङ। दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ । दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जाहेरीमा दिएकी छन् । पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमवार राति बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ। पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । आरोपित पौडेल सोही विद्यालयका प्रावि शिक्षक हुन् । उनले छात्रावास हेर्दै आएका थिए । जाहेरी परेपछि आरोपी शिक्षक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।