एजेन्सी । भारतीय संसद (लोकसभा) बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्तिले प्रवेश गरी विरोध प्रदर्शन गरेका छन् । बैठक चलिरहेकै बेला दर्शकदीर्घाबाट अचानक एक जना सांसद बस्ने कुर्सीमै खसेको भिडियो देख्न सकिन्छ । अर्का एक जना भने रेलिङबाट झुण्डिएर तल झरेका छन् । उनीहरूले जुत्ताभित्रबाट केही निकालेर संसद बैठकमा धुँवा धुँवा बनाउँछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले ‘कलर स्मोग’ संसद बैठकभरि फैलाउँछन् । बुधबारको संसद बैठक चलिरहेको थियो । पश्चिम बंगालका बिजेपी सांसद खानेन मुर्मु सम्बोधन गर्दै थिए । राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए । सोही बेला ती व्यक्तिहरू बैठकमा प्रवेश गरी ‘कलर स्मोग’ फैलाएका थिए । उनीहरू सभामुख बसेकै ठाउँतिर दौडेका थिए ।
अग्रवालले दर्शक दीर्घाबाट कोही मानिस खसेको आफूले देखेको बताए । ‘मलाई लाग्यो ती व्यक्ति खसे होलान् । तर अर्का व्यक्ति रेलिङ समातेर हाम फाल्दैथिए। त्यसपछि बल्ल लाग्यो उनीहरूले हाम फालेका हुन्,’ मिडियाँसग उनले भने, ‘लगत्तै जुत्ताबाट केही निकालेर धुँवा धुँवा बनाए । ’
सुरक्षाकर्मीले दुवै जनालाई पक्राउ गरेका छन् । प्रहरीको अनुसन्धानबाट मात्रै कसले किन यस्ताखाले गतिविधि गरेको खुल्ने उनले बताए । तृणमुल कांग्रेसका सांसद सुदीप बंदोपाध्यायले सुरक्षामा ठूलो कमजोरी भएको बताएका छन् । ‘एकदमै भयावह अनुभव गरेँ। कसैलाई केही थाहा थिएन । उनीहरूको ’टार्गेट’ के थियो,’ उनले भने । त्यस्तै सांसद डिम्पल यादवले संसदमा भिजिटरका रूपमा सामान्य मानिस र पत्रकारहरू समेत आउने गरेकाले उनीहरूमाथि विशेष निगरानी गर्नुपर्ने बताइन् । यसअघि आजकै दिन सन् २००१ मा भारतीय संसदमा आक्रमण भएको थियो ।








