काठमाडौँ । विश्वका सबैभन्दा धनी पाँच जनाको सम्पत्ति दोब्बरभन्दा धेरैले बढेको छ । अक्सफामको एउटा प्रतिवेदनले यस्तो देखाएको हो । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका मालिक बर्नार्ड आर्नो, अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोस, प्रविधि कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन र लगानी गुरु वारेन बफेटको कूल सम्पत्ति सन् २०२० को मार्चमा ४ खर्ब ५० अर्ब डलर थियो ।
सन् २०२३ को नोभेम्बरमा यिनीहरुको सम्पत्ति ८ खर्ब ६९ अर्ब डलरमा उक्लिएको छ । अक्फामले अमेरिकी आर्थिक पत्रिका फोब्र्स र वेल्थ एक्सको डेटाका आधारमा कूल सम्पत्ति निकालेको हो । स्वीटजरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठक शुरु हुँदै गर्दा सोमबार अक्सफामको प्रतिवेदन सार्वजनिक भएको हो । विश्वका १० ठुला कम्पनीमध्ये सात ओटाको सीईओ वा प्रमुख शेयरधनी अर्ब पति भएको प्रतिवेदनले देखाएको छ ।
विश्वको कूल वित्तीय सम्पत्तिको ४३ प्रतिशत विश्वका धनाढ्य १ प्रतिशत जनसङ्ख्याको हातमा छ । यही प्रवृत्ति जारी रहने हो भने एक दशकभित्रै विश्वले पहिलो १० खर्बपति पाउने तर अर्को २२९ वर्षसम्म पनि गरिबी नहट्ने अक्सफामले प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०१८ देखि सन् २०२१ को बिचको औसतको तुलनामा सन् २०२३ को जुनसम्मको एक वर्षमा विश्वका ठुला १४८ कम्पनीहरूको खुद मुनाफा ५२ प्रतिशतले बढेको पाइएको छ ।








