एजेन्सी । भारतमा बिहीबार फेसबुक लाइभ गरिरहेका बेला शिवसेना (यूबीटी) का पूर्व काउन्सिलर अभिषेक घोसालकरमाथि गोली प्रहार गरिएको छ । मुम्बईमा उनलाई एक व्यक्तिले गोली हानेका हुन् । उनको अवस्था गम्भीर छ । उनलाई बोरिवलीको करुणा अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार गोली चलाउने व्यक्ति मौरिस नोरोन्हाले आक्रमणपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन् ।
फेसबुक लाइभ गर्ने क्रममा अभिषेक घोसालकरलाई ५ पटक गोली लागेको प्रारम्भिक जानकारी छ ।
अभिषेक घोसालकर शिव सेनाका पूर्व विधायक विनोद घोसालकरका छोरा हुन् । अभिषेक मुम्बईको दहिसरको वार्ड नम्बर १ का पूर्व नगर सेवक हुन् ।
उनी मुम्बई बैंकका निर्देशक पनि हुन् । गोली हान्ने व्यक्ति र अभिषेकबीच आपसी विवाद रहेको बताइएको छ । हाल अभिषेक घोसाल्करकी पत्नी तेजस्विनी पार्षद हुन् ।
बोरिवली विधानसभा क्षेत्रमा घोसाल्कर परिवारको राजनीतिक वर्चस्व छ । शिव सेना नेतृ सुष्मा अन्धारेले मौरिस नोरोन्हा दहिसरबाट चुनाव लड्न इच्छुक रहेको र उनीहरुबीच विवाद भएको बताएकी छन् ।
केही दिनअघि भाजपा विधायक गणपत गायकवाडले उल्हासनगरमा शिवसेना शिन्दे गुटका नेता महेश गायकवाडमाथि गोली हानेका थिए ।









