ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत समेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ। यो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ।

उनीहरूले जम्मा भएको रकम चाहिएको बखत झिक्न पाइन्छ भनेर सर्वसाधारणहरूलाई विश्वास दिलाएर सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको तथा बचतकर्ताहरूको निक्षेप अपचलन गरेको प्रहरीको आरोप छ।

गत चैत ३० गते ललितपुर जिल्ला अदालतले सहकारीका ९ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सहकारीका सञ्चालक पदाधिकारीहरू विरूद्ध तीन करोड रुपैयाँ ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा परेको छ।यो सहकारीको कार्यक्षेत्र साविक बागमती, गण्डकी, नारायणी र लुम्बिनी अञ्चलका २६ जिल्ला रहेको थियो। पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia