बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई नेपाल चिकित्सक संघले आग्रह गरेको छ । विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्री सहित तयार रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संघले आग्रह गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो ।
‘पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
महामारी फैलिन नदिन र राहत उपलब्ध गराउन संघको सबैमा अपिल छ ।
संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ ।