सुनसरी गढी गाउँपालिका–६ मा सोमबार विहान एक जनाको हत्या भएको छ। वर्ष ४७ का ज्ञानचन्द ऋषिदेवको हत्या फरुवा (कोदालो) ले घाँटी काटेर गरिएको खुलेको छ। रिङ व्यवसायी ऋषिदेव सोमबार विहान घरबाट करिव १ किलोमिटर टाढा वडा नं. २ स्थित थलाहामा मृत अवस्थामा फेला परेका थिए।
उनको टाउको एक ठाउँमा र शरीर अर्कै ठाउँमा भेटिएको थियो। शरीर (टाउको मुनिको भाग) थलाहामा भेटिएको थियो भने त्यसको करिव ५० मिटर उत्तर–पश्चिम गुजाइटोकीमा टाउको भेटिएको थियो। सुनसरी प्रहरीका डिएसपी नविनकृष्ण भण्डारीका अनुसार शव भेटिएको स्थानमा ज्ञानचन्दको बालुवा र सिमेन्ट प्रयोग गरी रिङ बनाउने उद्योग रहेको छ। उनले विगत एक दशकदेखि रिङ बनाएर बेच्ने काम गर्दै आएका थिए।
उनको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्ने पनि ऋषिदेव समुदायकै हुन। तर, प्रहरीले नाम खुलाएको छैन।एक जनाको कपडामा हत्या गर्दा लागेको रगत समेत फेला परेको प्रहरीको भनाई छ।
चिनेजानेकैहरुबाट पहिलेदेखिको रिसिइबीले ज्ञानचन्दको हत्या भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। स्थानीयले पक्राउ परेका ब्यक्तिहरु ज्ञानचन्दसँगै काम गर्नेहरु हुन सक्ने अनुमान गरेका छन्।
प्रहरीले हत्यामा प्रयोग गरिएको फरुवासहितका हातहतियार समेत बरामद गरेको डीएसपी भण्डारीले वताए।








