आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् ।
पीडितले दिएको जाहेरीका आधारमा भारतीय नागरिकसहित ५ जनाको समूह पक्राउ परेको हो । भारतीय नागरिककै योजनामा ठगी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।एउटै परिवारका बाबु–छोरालाई विदेश पठाउने भनेर ६६ लाख बढी ठगेपछि प्रहरीले गिरोहलाई फेला पारेको हो ।
पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको पाइएको डीएसपी जोशीको भनाइ छ । उनका अनुसार विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको पाइएको छ ।
भिसाका लागि भनेर आवश्यक कागजातसमेत पठाएर भ्रम एवं प्रलोभनमा पारी रकम ठगेको प्रहरीको भनाइ छ । रकम पठाउन विभिन्न व्यक्तिहरुको बैंक खाता प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरोहका ५ जनालाई माघ ८ गते पक्राउ गरेको हो । गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले बताए ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेकामध्ये ठगीमा भारतीय नागरिक केशव यादवको विशेष संलग्नता छ । उनी ठगीका मुख्य योजनाकार हुन् । यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाएको चिमरिया बताउँछन् ।
एसपी चिमरिया पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने प्रवृत्ति बढेको बताउँछन् । सर्वसाधारणलाई विभिन्न प्रलोभन एवं भ्रममा पारेर ठगी गर्ने क्रम बढेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए ।








