विराटनगर। कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समिति चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले संसद्मा दर्ता गरी न्याय प्रशासन तथा विधायन समितिबाट पारित गराएर प्रदेशसभामा पेस गरेको उक्त विधेयक स्वीकार्य छैन ।’ विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँगको सर्वपक्षीय छलफलपछि विधेयक खारेजीको माग गर्दै दबाबमूलक कार्यक्रमहरू अघि बढाउने निर्णय गरिएको हो।
महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार, भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउन सरकार र प्रदेशसभालाई खबरदारी गरेका छन् । त्यसैगरी, भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री तथा संसदीय दलका नेताहरूलाई भेटेर ध्यानाकर्षण गराइनेछ भने प्रदेशभर कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान ‘खारेज गर’ भन्ने नारासहित प्रदर्शन गरिनेछ। आन्दोलनको अर्को कार्यक्रम अन्तर्गत, भदौ ११ गते प्रदेशका पत्रकारहरूले आ–आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाएर विरोध जनाउनेछन् ।
भदौ १२ गते नेपाल पत्रकार महासंघ प्रदेश समितिले मुख्यमन्त्री कार्यालय अगाडि र जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ। पहिलो चरणको आन्दोलनको अन्तिम दिन, भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिइने महासंघले जनाएको छ ।








