आइसिसी यू १९ विश्व क्रिकेट छनौटमा आज सोमबार अमेरिकालाई हराउँदै लगातार तेस्रो जीत हात पारेको छ। मलेसियमा जारी यो प्रतियोगीतामा नेपालले ६ विकेटले अमेरिकालाई पराजित गरेको हो।
अमेरिकाले नेपाललाई १०९ रनको लक्ष्य दिएको थियो। नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएर जीत हासिल गरेको हो।
यो प्रतियोगितामा विजेता बन्न नेपालमाथि सबै खेल जित्नुपर्ने चुनौती छ। यसअघि नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। उक्त खेलमा पपुवा न्युगिनीले ४९ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले ९.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। त्यसपछि दोस्रो खेलमा युगान्डालाई १ सय १७ रनले हरायो। मलेसियामा जारी विश्वकप छनौटका विजेताले अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यू–१९ विश्वकप खेल्नेछ। विश्वकप खेल्ने दस टोलीमध्ये एक टोली छनौट हुन बाँकी छ। नेपालको अर्को खेल बिहीबार आयरल्यान्डसँग खेल्ने छ।









