
२९ असार , अमर काफ्ले इनरुवा । राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा इनरुवा ३ का शम्भु प्रसाद आचार्य नियुक्त भएका छन् ।आचार्य ४ वर्षे कार्यकालका लागि बुधवार नियुक्त भएका हुन् ।
पूर्वाञ्चल क्षेत्रबाट सितेरियो कराते डोजाङको बिकासकालागि स्थापनाकालदेखिनै कृयाशिल रहँदै आएका आर्चाय यसअघि पनि राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य रहीसकेका व्यक्ति हुन् ।आचार्य प्रचण्ड नेतृत्वको सरकारले युवराज लामालाई खेदकुद परिषदमा सदस्य सचिव नियुक्त गरेपछि हटेका थिए ।
इनरुवाको खेलकुद विकासमा आचार्यको नियुक्तिले थप उर्जा प्रदान गर्नुका साथै खेलकुदको पूर्वाधार निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ । आचार्यको अगुवाईमा इनरुवाबासीका लागि खेलकुद विकासमा थप अवसरको ढोका खोलेको सुनसरी खेलकुद विकास समितिका सदस्य वशन्त सुवेदीको भनाई छ ।राष्ट्रिय खेलकुद परिषदका वर्तमान सदस्य सचिव केशव विष्ट, आचार्य बोर्ड सदस्य भएको समयमा पूर्वाञ्चल क्षेत्रीय संयोजक थिए भने अहिलेको कार्यकालमा विष्ट र आचार्य सँगसँगै सदस्य सचिव र बोर्ड सदस्यको रुपमा सुनसरी निवासीहरु एकसाथ नेपालको खेलकुदको केन्द्रको नेतृत्वमा रहने भएका छन् ।
बोर्ड सदस्यमा नियुक्त भएपछि प्रतिकृया दिँदै आचार्यले आफनोे कार्यकाल १ नम्वर प्रदेशको समग्र खेलकुद विकासमा उल्लेखनिय भूमिका निर्वाह गर्न प्रयासरत रहने बताउँदै खेलाडीहरुको वृतिविकास र पूर्वाधार विकासमा आफुले योजना अघि बढाउने प्रतिवद्धता जनाए ।








