भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा जारी टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेल जित्दै भाण्टावारी फाइनलमा प्रवेश गरेको छ ।
कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित रहेको श्री निम्नमाध्यमिक बिद्यालयको खेल मैदान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा केसीसी भाण्टावारीलाई ३७ रनले हराउँदै भाण्टावारी फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भाण्टावारीले केसीसी लाई १ सय ८५ रनको ठुलो लक्ष्य प्रस्तुत गरेको थियो ।
भाण्टावारीका लागि सबैभन्दा बढी अन्कित देवले २५ बलमा ५६ रन बनाए भने सहनसा आलमले १९ बलमा ४५ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । भाण्टावारीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । १ सय ८५ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको केसीसी २० औं ओभरमा १ सय ४७ रनमा अलआउट भयो ।
केसीसी लाई कम योगफलमा रोक्न भाण्टावारीका बिरवल सिंहले सर्वाधिक ४ विकेट लिए भने सहबाज र आलमिनले २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच भाण्टावारीका अन्कित देव घोषित भए । उनलाई स्थानीय समाजसेवी समशाद आलमले पुरस्कार प्रदान गरेका थिए । कोशी गाउँपालीकाको सहयोगमा कोशी क्रिकेट क्लब भाण्टावारीद्वारा आयोजित टि २० क्रिकेट प्रतियोगिताको उपाधीका लागि अब भाण्टावारीले बिराटनगरसंग प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सजाद आलमले बताए ।









