माेरङ । माेरङ र झापा जाेड्ने रतुवा खाेलामा अलपत्र अवस्थामा रहेकाे पुल निर्माण हुने भएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवाखोलामा अधुरै रहेकाे पुल निर्माण हुने भएकाे हाे । डेढ दशकअघि साे पुलकाे काम आधा मात्रै गरिएकाे छ । बाँकी भागमा पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ ।पुल नहुँदा स्थानीयबासी वर्खामा पैसा तिरेर डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य छन् । साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा खोला पार गरेको २० रुपैयाँ तिनुपर्ने बाध्यता छ ।

दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि ठेक्का लागको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए । अधुरो रहेका स्थानमा जम्मा ७५ मिटरको पुलको तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर-समता-आशिष सन्दीप जेभीले पाएको छ ।उनका अनुसार मोरङ तर्फ ५० मिटर र झापा तर्फ २५ मिटर पुलको लम्बाई थपिनेछ । ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ । ७५ मिटर थपिएपछि पुलको लम्बाई २८० मिटरको हुनेछ ।रतुवा खोलाको अधुरो पुल निर्माण भए झापाका दक्षिण क्षेत्रका जनतालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ– जाउ गर्न सहज हुनेछ । पुल निर्माणपछि आवत जावतमा महेन्द्र राजमार्गको विकल्प पनि बन्नेछ ।रतुवा खोलामा यसअघि २०६४–६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर २ सय ५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम गरेको भन्दै ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो । पुलको सुरक्षाका लागि झापातर्फ ६ सय ५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण गरिनेछ ।








