इलाम । इलाम कारागारमा खानेपानी अभाव हुँदा खान बनाउनदेखि शौचालयमा प्रयोग गर्न समस्या भएको छ । नगरपालिकाले वितरण गरेको खानेपानी नआउँदा कारागारमा समस्या भएको हो । दिनमा दुई पटक पानी आउँदा पनि पर्याप्त नहुने कारागारमा २७ गतेदेखि पानी नआएपछि कैदीबन्दीलाई समस्या भएको छ । नगरपालिकाले २४ घण्टै पानी वितरण गर्ने गरीको आयोजना सञ्चालनमा ल्याए पनि वितरणमा समस्या भएको हो ।जिल्ला कारागार इलामका जेलर सुमित मगरले २७ गते बेलुकाबाट पानी नआएर समस्या आएको भन्दै कार्यालयले ट्याङ्करमा पुवा खोला र धोवीधाराबाट ल्याएर २८ गतेको समस्या समाधान गरेको बताए । उनले भने– इलाम नगरपालिकाले २८ गते बेलुकाबाट पानीको समस्या समाधान हुने बताएको छ तर आयोजनाका प्राविधिकले भने फोन नै उठाएनन् । कारागारमा खानेपानी समस्या भएको खबर नगरपालिकाले थाहा पाएपछि दमकलबाट पानी लगेको थियो । एक सय २५ जना क्षमताको इलाम कारागारमा हाल दुई सय ८० जना कैदी रहेका छन् ।
इलाम नगरपालिकाका खानेपानी शाखाका प्रमुख विशाल यम्फूले कारागारमा खानेपानी नआएको गुनासो भएपश्चात् अर्काेदिनबाट वितरण हुने गरीको व्यवस्थापन भइसकेको बताए । उनले यति बेला खानेपानीको मुहान घटेको कारण पानी थोरै भएको हुँदा समस्या भएको र मुहानमा पानी थप्ने काम भइरहेको बताए । थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा कैदीबन्दीलाई कारागारमा राखिन्छ ।कारागारमा रहेका कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्कँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि मात्रै निस्कन्छन् । नेपालकै नमूना कारागार भनिएको इलाम कारागारभित्र फुटसल खेल्नेका लागि खेल मैदानको व्यवस्था छ । कारागारमा पुस्तकालय, जिम, भलिबल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्कीपिङ लगायतका खेलहरूका लागि सामग्री र मैदानको व्यवस्था रहेको छ ।










