पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेको भरमा ‘कोशी’ नाम फिर्ता नहुने चेतावनी दिएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ अध्यक्ष ओलीले भने ।

प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए ।अध्यक्ष ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गरे । कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेकाले यसको विरोध गर्नुको औचित्य नहुने उनको दाबी थियो । ‘कांग्रेसको कुनै आकार प्रकार र स्वरुप छैन, पछिल्लो चार दिनयता आफूविरुद्व कालो झण्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन’ उनले भने । यसअघि जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।

उनीहरुले झापाको बुधबारे, इलाम,पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा ओलीलाई कालो झन्डा देखाँउदै विरोध गरेका छन् ।एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन् ।

शुक्रबार मध्यान्न जन्मथलोमा निर्मित बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न पुगेका ओलीविरुद्व पहिचान पक्षधरहरुले केपी ओलीलाई अवरोध सिर्जना गर्न खोजेका थिए । विरोधका बाबजुद ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराई गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरे ।

विरोधसभाको नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले एमाले, कांग्रेस र माओवादीले जबर्जस्त कोशी नाम राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रेको बताए । पहिचान पक्षधरको आन्दोलन कुनै दल विशेष नभएको पनि लिङ्देनले स्पष्ट पारे । पहिचान पक्षधरहरुले ओली पाँचथर सदरमुकाम फिदिम आइपुग्दा मसाल जुलुस निकालेर विरोध जनाएका छन् । जुलुसमा सैयौंको उपस्थिति थियो ।ओली पार्टीको कार्यक्रममा सम्बोधन गरिरहँदा पहिचान पक्षधरहरुले सदरमुकामका विभिन्न स्थानमा छरिएर उनको विरोध गरिरहेका छन् । आजै झापा फर्किने तयारीमा रहेका ओलीलाई आज पनि कालो झन्डा देखाइने प्रदेश १ पुनः नामकरण संघर्ष समितिका मधु केरुङले जनाए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia