इटहरी । सशस्त्र प्रहरीले १५ लाख मुल्य बराबरको मोबाइल बरामद गरेको छ । सुनसरी कोशी गाँउँपालिका – ८ तिनकुने स्थित पूर्व पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोलीले काठमाडौंबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२४ च ६३६१ नम्बरको टाटा गाडी चेकजाँच गर्ने क्रममा बिल बिजकमा उल्लेखित रकम भन्दा फरक विवरण भेटिएपछि १५ लाख ५७ हजार ९३० रुपैयाँ बराबरको मोबाइल सेट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले सवारी र सवारी चालक चालक काभ्रे धुलिखेलका किरण बाग्ले र सह–चालक सोही स्थानका सुमन परियारलाई पनि नियन्त्रणमा लिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका १३ शिवधारा स्थित कोशी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट धनकुटा तर्फ जाँदै गरेको प्रदेश ३– ०१–००२ ख २३०४ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा ९२ हजार मुल्य बराबरको कपडा, लेदर ब्याग नियन्त्रणमा लिएको छ ।
त्यस्तै सुनसरी धरानको फुस्रे स्थित कोशी राजमार्गमा धरानबाट संखुवासभा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००१ ख १९६४ नम्बरको यात्रु बाहक बस चेकजाँचका क्रममा ७२ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ । नियन्त्रणमा लिइएका सामान र व्यक्तिहरुलाई कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।










