ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ भेटी सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको वैशाख १ सम्म मात्र दुई करोड सात लाख १९ हजार ३०८ रुपियाँ सङ्कलन भएको हो ।समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार चालु आवमा सङ्कलन भएको भेटी अन्तर्गत पाथीभरामा भक्तजनले चढाएको रकमबाट एक करोड ५६ लाख ९७ हजार २४० रुपियाँ रहेको छ । यस्तै विभिन्न दाताको सहयोगबाट ११ लाख ३१ हजार ६७७ रुपियाँ, सिक्का सटहीबाट सात लाख ५० हजार छ सय रुपियाँ र भारतीय रुपियाँ (भारु) सहटीबाट सात लाख दुई हजार तीन सय रुपियाँ रकम सङ्कलन भएको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार बैङ्कमा मौज्दात (बचत) रकमको ब्याजबाट चालु आवभित्र वैशाख १ सम्ममा २४ लाख ३७ हजार ४९१ रुपियाँ सङ्कलन भएको छ । यता भेटी रकम सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँमध्येबाट चैत मसान्तसम्म ४८ लाख आठ हजार ९८५ रुपियाँ खर्च (व्यय) भएको पनि कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । कर्मचारी तलबभत्ता, सुरक्षाकर्मी परिचालन, भेटी रकम सिक्का र भक्तजनले चढाएका अन्य धातुजन्य सामग्री व्यवस्थापन तथा ढुवानीमा खर्च भएको समितिले जनाएको छ ।समितिका अनुसार पाथीभरामा तीन पुजारीसहित करार सेवामा १६ जना कर्मचारी कार्यरत छन् । कार्यकारी निर्देशकबाहेक सबै कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब सुविधा प्रदान गर्ने गरिएको छ । आन्तरिक स्रोतबाट हुने तलबभत्तामा मात्र मासिक चार लाख ११ हजार ६३० रुपियाँ खर्च हुने गरेको समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो ।पाथीभरामा भक्तजनको आगमन जति बढी हुन्छ, सोहीअनुसार आम्दानी अर्थात् भेटी सङ्कलन पनि वृद्धि हुने गरेको समितिले जनाएको छ । यस वर्ष तीर्थयात्रीको उपस्थिति बढ्न थालेकाले भेटी सङ्कलन पनि वृद्धि हुनसक्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।










